लहान बैशाख २९/ नेपाल प्रहरीका प्रहरी निरीक्षक राज यादवद्वारा पत्रकार सुरेश रायमाथि गरिएको अमर्यादित, अपमानजनक र धम्कीपूर्ण व्यवहारप्रति प्रेस चौतारी नेपाल, सिराहा शाखा गम्भीर ध्यानाकर्षण गराउँदै घोर आपत्ति प्रकट गर्दछ। हिमालय टेलिभिजन तथा रातोमसि डटकमका सिरहा संवाददाता राय गोलबजार–४ स्थित वर्धमान अस्पतालमा सुत्केरी महिलाको मृत्युबारे रिपोर्टिङका लागि जाँदै गर्दा इलाका प्रहरी कार्यालय गोलबजार अगाडि प्रहरी निरीक्षक यादवद्वारा मोटरसाइकल रोकिनुका साथै हेल्मेट नलगाएको बहाना गर्दै दुव्र्यवहार गरिएको घटना अत्यन्तै निन्दनीय र खेदजनक छ। घटनाको प्रत्यक्षदर्शी विवरणअनुसार निरीक्षक यादवले “हेल्मेट लगाउन आउँदैन? सिकाउनुपर्छ? सिकाइदिउँ?” भन्दै पत्रकारप्रति दुर्व्यवहार गर्नुका साथै “मुख–मुखै लाग्छस्, बढी बोल्छस्” भन्ने अभिव्यक्ति दिएका छन्, जुन एक पेशागत कर्तव्यमा खटिएका पत्रकारप्रति गरिएको स्पष्ट धम्की हो। सार्वजनिक सरोकारका विषयमा सूचनाको संकलन तथा प्रसारण गर्ने पत्रकारलाई त्रास, डर र अपमानका माध्यमबाट रोक्ने जुनसुकै कार्य प्रेस स्वतन्त्रतामाथिको खुला हमला हो। प्रहरीजस्तो जिम्मेवार संस्था र त्यसका अधिकारीबाट यस्तो व्यवहार हुनु लोकतन्त्र र विधिको शासनका लागि अत्यन्तै दुर्भाग्यपूर्ण अवस्था हो। यस घटनाले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र प्रहरी प्रशासनको आचरणप्रति गम्भीर प्रश्न खडा गरेको छ। साथै, यातायात नियमको नाममा पत्रकारमाथि गरिएको लक्षित र दम्भपूर्ण व्यवहारले प्रहरीले नागरिकसँग कसरी व्यवहार गरिरहेको छ भन्ने कुरालाई पनि उजागर गरेको छ। घटनाको तत्काल र निष्पक्ष छानबिन गरी दोषी प्रहरी निरीक्षक राज यादवमाथि कडा अनुशासनात्मक कारबाही गरियोस् र पत्रकार सुरक्षाको प्रत्याभूति गरिनुका साथै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने सुनिश्चितता गरियोस् भन्ने मांग सिरहाको प्रेस चाैचारी नेपाल र प्रेस सेन्टर नेपाल लगायतका पेशागत संगठनहरुले मांग गरेका छन् । यसमा उल्लेख गरिएको छ हामी यो घटनालाई सामान्य रूपमा लिने पक्षमा छैनौं। हाम्रो संगठन स्वतन्त्रताको पक्षमा सँधै दृढ छ र यस्ता घटनाको प्रतिवाद गर्न तयार रहेका छन् । सबै सरोकारवाला निकायलाई सजग, संवेदनशील र जिम्मेवार बन्न आग्रह गर्दै दाेषिमाथि कार्वाहीकाे मांग गरेका छन्
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: