कार्तिक १४, जनकपुरधाम। जनकपुरधाममा आगामी मंसिर ९ गते मनाइने भव्य सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ। बिहीबार जानकी मन्दिरमा सम्पन्न सर्वपक्षीय बैठकमा यस वर्षको महोत्सवलाई सभ्य, भव्य र व्यवस्थित ढङ्गले मनाउने योजना प्रस्तुत गरिएको छ। बैठक मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवको अगुवाइमा सम्पन्न भएको हो।

बैठकमा बोल्दै महन्थ वैष्णवले यस वर्ष विवाहपञ्चमीमा देश–विदेशबाट आउने हजारौं श्रद्धालु र पाहुनाको स्वागतका लागि जनकपुरवासीलाई सरसफाइ र व्यवस्थापनमा सक्रिय हुन आग्रह गरे। उनले सबै पक्षको सहकार्यबिना विवाहपञ्चमीलाई गरिमामय बनाउन नसकिने बताउँदै स्थानीय, प्रशासनिक र धार्मिक निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गरे।

बैठकमा शान्ति–सुरक्षा, प्रचार–प्रसार, बजार व्यवस्थापन, रंगभूमीमा गेट तथा पण्डाल व्यवस्था, यातायात, ट्राफिक र स्वास्थ्य उपचारजस्ता विषयमा पृथक–पृथक उपसमितिहरू गठन गरिएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले पनि विवाहपञ्चमी जनकपुरको आत्मा भएको बताउँदै सबै जनकपुरवासीलाई आफ्ना क्षेत्रबाट सहयोग गर्न अपिल गरे।

सर्वपक्षीय बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल प्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाही, नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतो र एनप्याब्सन जनकपुर अध्यक्ष दीपक ठाकुरलगायतका सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।

महोत्सवका क्रममा यस वर्ष पनि परम्परागत सात दिने कार्यक्रम निर्धारण गरिएको छ। मंसिर ४ गते नगर दर्शन, मंसिर ५ गते फूलबारी लिला, मंसिर ६ गते धनुष यज्ञ, मंसिर ७ गते तिलकोत्सव, मंसिर ८ गते मटकोर, मंसिर ९ गते स्वयम्वर तथा विवाह महोत्सव र मंसिर १० गते रामकलेवा हुने तय गरिएको छ।

तर यतिबेला जनकपुरधामका स्थानीय बासिन्दा र धार्मिक सरोकारवाला पक्षहरूबाट एक गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ। उनीहरूका अनुसार करोडौँ रुपैयाँको लगानीमा निर्माण गरिएको प्राचीन धार्मिक स्थल “सितापुष्पवाटिका”लाई यस वर्षको विवाहपञ्चमी कार्यक्रमसूचीमा समावेश नगर्नु महोत्सवलाई संकुचित रूपमा मनाउने प्रयास भएको संकेत हो।

स्थानीयहरूले जनकपुरधामको ऐतिहासिक, सांस्कृतिक र धार्मिक पहिचानसँग जोडिएको सितापुष्पवाटिका, मणिमण्डप लगायतका स्थलहरूमा पनि विवाहपञ्चमीसँग सम्बन्धित कार्यक्रम राखिनु पर्ने माग गरेका छन्। जनकपुरवासीहरूले भनिरहेका छन्— “विवाहपञ्चमी केवल जानकी मन्दिरको कार्यक्रम होइन, यो जनकपुरको इतिहास र गौरवसँग जोडिएको सम्पूर्ण शहरको पर्व हो। मन्दिरभित्र सीमित गरेर मनाइँदा यसको सांस्कृतिक प्रभाव घट्छ।”

प्रत्येक वर्ष हजारौं तीर्थयात्री, साधु–सन्त र पर्यटकहरू भारतका विभिन्न सहरबाट जनकपुरधाम आइपुग्ने भएकाले सुरक्षा, सरसफाइ, यातायात र स्वास्थ्य व्यवस्थापनमा यसपटक अझ सुदृढ तयारी आवश्यक भएको जनाइएको छ। स्थानीय व्यापारी र होटल व्यवसायीहरूले पनि विवाहपञ्चमीलाई जनकपुरको आर्थिक गतिशीलता र पर्यटन प्रवर्द्धनको अवसरका रूपमा लिनुपर्नेमा जोड दिएका छन्।

जनकपुरधाम धार्मिक मात्र होइन, सांस्कृतिक र ऐतिहासिक रूपमा पनि अद्वितीय सहर हो। विवाहपञ्चमी महोत्सव यसको पहिचानको केन्द्र हो। यसलाई जानकी मन्दिरका चार पर्खालभित्र सीमित नराखी सितापुष्पवाटिका र मणिमण्डपजस्ता ऐतिहासिक स्थलहरूमा समेत कार्यक्रम विस्तार गर्न सके जनकपुरको धार्मिक–सांस्कृतिक पुनर्जागरणमा नयाँ ऊर्जा थपिने जनकपुरवासीको धारणा छ।

यसरी, यस वर्षको विवाहपञ्चमी महोत्सव भव्य रूपमा मनाउने तयारी त तीव्र छ, तर सितापुष्पवाटिकाको उपेक्षा र कार्यक्रमको सीमितताले जनकपुरधामका बासिन्दा र श्रद्धालुहरूबीच चर्चा र असन्तुष्टि दुवै निम्त्याएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको