कार्तिक १९, जनकपुरधाम। धनुषा र सिरहाको सीमामा बग्ने पवित्र कमला नदी किनारमा आज कात्तिक शुक्ल पूर्णिमाको अवसरमा भव्य कमला महाकुम्भ मेला सम्पन्न भएको छ।
बिहानैदेखि हजारौँ तीर्थयात्री, साधु–सन्त तथा श्रद्धालु भक्तजनहरूको भीड कमला नदी तटमा उम्किएको थियो। भक्तजनहरूले नदीमा स्नान (कमला नुहाउने) गरी आत्म–शुद्धि, पाप–मोचन र मनोकामना सिद्धिको कामना गरेका थिए।
धार्मिक परम्परा अनुसार, यस दिन कमला नदीमा स्नान गरे आत्मिक शान्ति र मोक्ष प्राप्त हुने विश्वास रहिआएको छ। मिथिला क्षेत्रमा यस मेलालाई अत्यन्त पवित्र पर्वका रूपमा मनाइन्छ।
मेलाको अवसरमा स्थानीय समाजसेवी, धार्मिक संस्था र सुरक्षाकर्मीहरूले भक्तजनहरूको सहज आवागमन र सुरक्षाको व्यवस्था मिलाएका थिए। नदी किनारमा वैदिक मन्त्रोच्चारण, दीपदान, र भजन–कीर्तनका कार्यक्रमले वातावरण भक्तिमय बनेको थियो।
धार्मिक पर्यटनको दृष्टिले महत्वपूर्ण मानिने कमला महाकुम्भले मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश दिएको स्थानीयहरूले बताएका छन्।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: