११ चैत, काठमाडौ । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले यसअघिको प्रस्ताव संशोधन गर्दै नयाँ मिति पारित गरेको हो। यसअघि मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले भदौमै महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए। महाधिवेशनको प्रक्रिया अनुसार भदौ ३ गतेबाट वडा अधिवेशन सुरु गरिने कांग्रेसले जनाएको छ। साथै, महाधिवेशन सम्पन्न गर्न वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्काको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको जानकारी पार्टी प्रवक्ता देवराज चालिसेले दिए। बैठकले संविधान संशोधनका लागि कांग्रेसको नेतृत्वमा सर्वपक्षीय छलफल अघि बढाउने निर्णय समेत गरेको छ। त्यस्तै, नयाँ बन्ने सरकारलाई सकारात्मक सहयोग गर्ने नीति लिँदै सुशासन र प्रगतिमा सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गरिएको प्रवक्ता चालिसेले बताए। यसैगरी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाउने उद्देश्यले महामन्त्रीद्वयको संयोजकत्वमा अध्ययन समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: