१२ चैत, जनकपुरधाम। रामनवमीका अवसरमा शोभायात्रा तथा र्याली नगर्न जिल्ला प्रशासनले दिएको निर्देशनप्रति राष्ट्रिय एकता दलले कडा आपत्ति जनाएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाले चैत १२ गते जारी गरेको पत्रअनुसार जिल्ला सुरक्षा समिति बैठकले वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै कुनै पनि सभा, जुलुस, र्याली तथा प्रदर्शन गर्न उपयुक्त नहुने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा रामनवमीका दिन शोभायात्रा, बाइक र्यालीलगायतका कार्यक्रम नगर्न/नगराउन निर्देशन दिइएको थियो। तर उक्त निर्णयप्रति असहमति जनाउँदै राष्ट्रिय एकता दलका प्रदेश अध्यक्ष मनिष पुर्वे ले प्रशासनको कदम अस्वीकार्य रहेको बताएका छन्। उनले नेपालको संविधानले प्रत्याभूत गरेको धार्मिक स्वतन्त्रताको अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाउँदै उक्त निर्णयलाई “गलत, पक्षपातपूर्ण र असंवैधानिक” भनेका छन्। उनका अनुसार रामनवमीको अवसरमा शोभायात्रा तथा अन्य धार्मिक कार्यक्रमहरू शान्तिपूर्ण रूपमा आयोजना गरिनेछन् र प्रशासनको निर्देशनले नागरिकको धार्मिक अधिकार नखोस्ने दाबी गरिएको छ। त्यस्तै, सुरक्षाको नाममा नागरिक अधिकार कुण्ठित गर्ने कार्य स्वीकार्य नहुने चेतावनी दिँदै उनले शान्तिपूर्ण कार्यक्रमहरूमा अवरोध सिर्जना भए त्यसको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिनुपर्ने बताए। राष्ट्रिय एकता दलले सम्बन्धित निकायसँग उक्त निर्णय तत्काल फिर्ता लिन आग्रह गर्दै धार्मिक कार्यक्रमहरू सहज रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: