१३ चैत, काठमाडौ । बालेन्द्र शाह नेतृत्वमा १५ सदस्यीय नयाँ सरकार गठन भएको छ। मन्त्रिपरिषद्को सार्वजनिक वरीयताअनुसार प्रधानमन्त्री शाह पहिलो स्थानमा रहेका छन् भने अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो नम्बरमा छन्। सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका सुधन गुरुङ वरीयतामा तेस्रो स्थानमा रहेका छन्। गृहमन्त्रालयलाई शक्तिशाली र संवेदनशील मन्त्रालयका रूपमा लिइने भएकाले उनको स्थानलाई विशेष महत्वका साथ हेरिएको छ। यसले सरकारको ‘कोर निर्णय समूह’मा गुरुङको प्रभावशाली भूमिका रहने संकेत गरेको विश्लेषकहरूको भनाइ छ। वरीयताअनुसार चौथो स्थानमा शिशिर खनाल (परराष्ट्रमन्त्री), पाँचौँमा सुनिल लम्साल (भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास), छैटौँमा विराजभक्त श्रेष्ठ (ऊर्जा, जलस्रोत तथा सिंचाइ), सातौँमा खड्कराज पौडेल ‘गणेश’ (पर्यटन), आठौँमा सस्मित पोखरेल (शिक्षा, विज्ञान तथा प्रविधि तथा युवा तथा खेलकुद) रहेका छन्। त्यसैगरी नवौँ स्थानमा निशा मेहता (स्वास्थ्य तथा जनसंख्या), दशौँमा विक्रम तिमिल्सिना (सञ्चार), एघारौँमा प्रतिभा रावल (सामान्य प्रशासन), बाह्रौँमा दीपक साह (श्रम, रोजगार), तेह्रौँमा सोविता गौतम (कानुन), चौधौँमा गीता चौधरी (कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण) र पन्ध्रौँ स्थानमा सीता वादी (महिला, बालबालिका) रहेका छन्। नयाँ मन्त्रिपरिषद्को वरीयताले सरकारभित्रको शक्ति सन्तुलन, निर्णय प्रक्रिया र प्राथमिकताबारे स्पष्ट संकेत दिएको छ। विशेषगरी शीर्ष तीन स्थानमा रहेका पदाधिकारीहरूको संयोजनले आगामी शासन सञ्चालनको दिशा र गति निर्धारण गर्ने अपेक्षा गरिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: