३ जेठ , जनकपुरधाम। लोहरपट्टी नगरपालिका क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिकस्थल गेरुकाधाम मा आज शाही स्नानका अवसरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ। अधिकमास (पुरुषोत्तम मास/मलमास) को पहिलो दिन पारेर आयोजित विशेष स्नानमा नेपालका विभिन्न स्थानका साथै छिमेकी भारतबाट समेत भक्तजन सहभागी भएका हुन्।
धार्मिक आस्था तथा परम्पराअनुसार श्रद्धालुहरूले गेरुका नदी तथा पवित्र कुण्डमा स्नान गरी भगवान विष्णुको मन्दिरमा पूजा–आराधना गरेका थिए। स्नानपछि भक्तजनहरूले सुख, शान्ति, समृद्धि तथा मोक्ष प्राप्तिको कामना गर्दै पूजापाठ गरेका छन्।
धार्मिक मान्यताअनुसार गेरुकाधाममा स्नान गरे पाप नाश हुने तथा पुण्य लाभ प्राप्त हुने विश्वास रहिआएको छ। यही विश्वासका कारण प्रत्येक धार्मिक अवसर तथा अधिकमासमा यहाँ ठूलो संख्यामा श्रद्धालुहरूको उपस्थिति हुने गर्दछ।
आजको शाही स्नान अवसरमा साधुसन्त, महन्थ तथा स्थानीय भक्तजनहरूको सहभागितामा भजन–कीर्तन, झाँकी तथा विभिन्न धार्मिक कार्यक्रमसमेत आयोजना गरिएको थियो। मेला व्यवस्थापन समितिका अनुसार श्रद्धालुहरूको सुविधाका लागि खानेपानी, सुरक्षा, स्वास्थ्य सेवा तथा अन्य आवश्यक व्यवस्थापन मिलाइएको छ।
लोहरपट्टी नगरपालिकाका नगरप्रमुख शैलेन्द्र कुमार यादवको नेतृत्वमा तीर्थयात्रीहरूको सहजताका लागि विशेष व्यवस्थापन गरिएको जनाइएको छ। स्थानीयवासीका अनुसार गेरुकाधामलाई संघ, प्रदेश तथा स्थानीय सरकारको संयुक्त प्रयासबाट भविष्यमा महाकुम्भका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।
धार्मिक पर्यटनको विस्तारसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ। प्रत्येक वर्ष गेरुकाधाममा धार्मिक स्नान तथा पूजापाठका लागि हजारौं भक्तजन पुग्ने गरेका छन्।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको