४ जेठ , जनकपुरधाम। जनकपुरधामस्थित रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशाला मा जारी शहीद कप विमेन्स मधेश क्रिकेट लिग २०२६ अन्तर्गत सोमबार सम्पन्न दुई खेलमा सर्लाही विमेन्स र पर्सा विमेन्सले प्रभावशाली जित हात पारेका छन्। पहिलो खेलमा सर्लाही विमेन्सले बारा विमेन्सलाई १८ रनले पराजित गर्यो। निर्धारित २० ओभरमा सर्लाहीले ४ विकेट गुमाएर ११७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको बारा विमेन्स १६.५ ओभरमै ९९ रनमा अलआउट भएपछि सर्लाही विजयी बन्यो। त्यसैगरी दोस्रो खेलमा पर्सा विमेन्सले रौतहट विमेन्सलाई ८ विकेटले हरायो। रौतहटले दिएको ८३ रनको सामान्य लक्ष्य पर्साले १२.२ ओभरमै २ विकेट गुमाएर पूरा गर्दै सहज जित दर्ता गर्यो। रामजानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा जारी प्रतियोगितामा आठ जिल्लाका महिला टोली सहभागी छन्। प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा बारा, पर्सा, रौतहट र सर्लाही रहेका छन् भने समूह ‘बी’ मा सप्तरी, धनुषा, महोत्तरी र सिराहा सहभागी छन्। प्रतियोगिताअन्तर्गत ३१ वैशाखदेखि लिग चरणका खेल सुरु भएका हुन्। प्रत्येक दिन बिहान ९ बजे र दिउँसो १ बजे खेल सञ्चालन भइरहेको शहिद कप संचालन अन्तर्गत मधेश प्रदेश स्तरिय महिला क्रिकेट प्रतियोगिताको संयोजक दिपेन्द्र कुमार गोईतले जनाएकाछन।
३ जेठमा बारा र पर्साबीच तथा सर्लाही र रौतहटबीच प्रतिस्पर्धा भएको थियो। ४ जेठमा रौतहट बनाम पर्सा तथा सर्लाही बनाम बारा खेल हुनेछ भने ५ जेठमा बारा र रौतहट तथा पर्सा र सर्लाही आमनेसामने हुनेछन्। ६ जेठमा सेमिफाइनल खेल हुनेछन्। पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग खेल्नेछ भने दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको फाइनल खेल ७ जेठमा हुने तालिका रहेको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: