७ जेठ, काठमाडौ । प्रधानमन्त्री बालेन शाह ले उपयुक्त समयमा प्रतिनिधिसभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाफ दिने बताएका छन्। विपक्षी दलहरूले लगातार संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै अवरोध गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो। प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल ले कार्य व्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्री शाहले “उपयुक्त समयमा संसद् आउँला र सांसदहरूको जवाफ दिउँला” भनेको जानकारी गराएका हुन्। विपक्षी दलहरूले पछिल्ला केही दिनदेखि संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै नाराबाजी गरिरहेका छन्। बिहीबार पनि प्रधानमन्त्री अनुपस्थित भएपछि प्रतिनिधिसभा बैठक प्रभावित भएको थियो। त्यसपछि सभामुख अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए। सभामुखका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले आफू उपयुक्त समयमा संसद्मा उपस्थित हुने र सांसदहरूको जिज्ञासाको जवाफ दिने प्रतिबद्धता व्यक्त गरेका थिए। यसबीच विपक्षी दलहरूको नाराबाजीकै बीच प्रतिनिधिसभाको बैठक सञ्चालन गरिएको थियो। सभामुखले अवरोधका बाबजुद कार्यसूची अगाडि बढाएका थिए। बैठकले वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्ले ले उक्त विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसैगरी प्रतिनिधिसभाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, मतदाता नामावली (पहिलो संशोधन) विधेयक तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव समेत स्वीकृत भएको छ। प्रतिनिधिसभाको अर्को बैठक वैशाख १२ गतेका लागि बोलाइएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: