१३ जेठ, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा शहरी पूर्वाधार सुधारअन्तर्गत ठूला योजना अगाडि बढाइएको छ । मेयर मनोज कुमार साह को अथक प्रयासपछि “अर्बन रेजिलियन्स एण्ड लिभेबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट (URLIP)” अन्तर्गत सडक, नाला, फुटपाथ तथा रोड फर्निचर निर्माणका लागि १ अर्ब ६५ करोड रुपैयाँ बराबरको अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिएको हो । यससँगै करिब ५० करोड रुपैयाँ बराबरको अर्को टेन्डरसमेत छिट्टै आह्वान हुने जनाइएको छ । नेपाल सरकार र एसियायी बिकास बैंक को आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यस परियोजनाले जनकपुरधामको सडक सुधार, व्यवस्थित ड्रेनेज प्रणाली, फुटपाथ विस्तार तथा आधुनिक शहरी संरचना विकास गर्ने लक्ष्य राखेको छ । सूचनाअनुसार निर्माण कम्पनीहरूको न्यूनतम वार्षिक कारोबार करिब ९.४१७ मिलियन अमेरिकी डलर हुनुपर्नेछ । साथै वित्तीय क्षमता, विगत अनुभव तथा ठूला सडक परियोजना सम्पन्न गरेको अनुभवका आधारमा मात्रै कम्पनीहरू सहभागी हुन सक्ने व्यवस्था गरिएको छ । परियोजनामा सहभागी हुन ०.१८८ मिलियन अमेरिकी डलर बराबरको बिड सेक्युरिटी राख्नुपर्ने प्रावधानसमेत तोकिएको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति ७ जुलाई २०२६ निर्धारण गरिएको छ । परियोजना कार्यान्वयन इकाई (PIU) जनकपुरधामद्वारा जारी सूचनापछि स्थानीय स्तरमा उत्साहसँगै चासोसमेत बढेको छ । जनकपुरधाम वर्षौंदेखि जलजमाव, अव्यवस्थित सडक, फुटपाथ अभाव तथा वर्षायाममा हिलाम्य अवस्थाबाट पीडित रहँदै आएको छ । स्थानीयवासीहरूले योजना पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन भए शहरको स्वरूप नै बदलिन सक्ने अपेक्षा गरेका छन् । विशेषज्ञहरूका अनुसार दीर्घकालीन शहरी योजना, प्रभावकारी ड्रेनेज प्रणाली, पैदल यात्रुको सुरक्षा तथा नियमित अनुगमन सुनिश्चित गर्न सके यो परियोजना जनकपुरधामको विकासका लागि कोशेढुंगा सावित हुन सक्छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: