१४ जेठ, काठमाडौ । नेपाली कांग्रेसले गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति औपचारिक धारणा सार्वजनिक गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टीले बिहीबार जारी गरेको वक्तव्यमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनलाई “अधुरो, अपूर्ण र अस्पष्ट” भएको टिप्पणी गर्दै राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले त्यसलाई थप पुष्टि गरेको जनाएको छ।

कांग्रेसले मानव अधिकार आयोगको प्रतिवेदनमा जाँचबुझ आयोगका अध्यक्षमाथि समेत प्रश्न उठाइएको उल्लेख गर्दै कार्की आयोगको निष्पक्षतामाथि थप शंका उत्पन्न भएको दाबी गरेको छ। साथै, आम निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको आशंका पनि व्यक्त गरेको छ।

वक्तव्यमा आन्दोलनको प्रारम्भिक चरण अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शन र सुशासनको मागसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। तर पछि आन्दोलन हिंसात्मक दिशातर्फ मोडिएको कांग्रेसको भनाइ छ।

कांग्रेसका अनुसार आन्दोलनका क्रममा योजनाबद्ध रूपमा आगजनी, तोडफोड, लुटपाट तथा हत्या जस्ता घटनाहरू भएको भन्दै त्यसमा संलग्न व्यक्तिमाथि थप अनुसन्धान र कारबाही आवश्यक रहेको मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यस्तै, राज्य संयन्त्रको कमजोरी तथा सुरक्षा निकायबाट भएको अत्यधिक बल प्रयोगलाई पनि मानव अधिकार उल्लंघनका रूपमा व्याख्या गरिएको भन्दै कांग्रेसले संवैधानिक र कानुनी दायराभित्र रहेर आवश्यक कारबाही गर्न सरकारसँग माग गरेको छ।

कांग्रेसले राष्ट्रिय मानव अधिकार आयोग संवैधानिक निकाय भएकाले आयोगका सिफारिस कार्यान्वयन गर्नु राज्यका निकायहरूको दायित्व भएको समेत उल्लेख गरेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको