२१ जेठ, काठमाडौ । २१ जेठ , काठमाडौ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मध्यम तातो हावाको लहर (हिटवेभ) चल्ने सम्भावना रहेको भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।
विभागले बिहीबार जारी गरेको सूचनाअनुसार यस अवधिमा कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा पनि तातो हावा चल्न सक्ने अनुमान गरिएको छ।
विभागले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दियाका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
यस्तै झापा, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कैलाली र कञ्चनपुर जिल्लालाई पनि मौसमको अवस्थाबारे नियमित जानकारी लिन र अद्यावधिक रहन विभागले सुझाव दिएको छ।
विभागका अनुसार उल्लेखित जिल्लाहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने सम्भावना रहेको छ। अत्यधिक गर्मीका कारण स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक कामबाहेक दिउँसोको समयमा बाहिर ननिस्कन, प्रशस्त पानी पिउन तथा गर्मीबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको छ।
विभागले आगामी केही दिन मौसमसम्बन्धी सूचना तथा पूर्वानुमान नियमित रूपमा अवलोकन गर्न समेत सर्वसाधारणलाई अनुरोध गरेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको