४ अषाढ, जनकपुरधाम। ४ अषाढ, जनकपुरधाम।– जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमन तथा कारबाहीलाई तीव्र बनाएको छ। पछिल्ला महिनाहरूमा २० भन्दा बढी निजी विद्यालयको स्थलगत अनुगमन गर्दा अनुमति विपरीत कक्षा सञ्चालन, फरक नाममा विद्यालय सञ्चालन, न्यून विद्यार्थी संख्यामा विद्यालय चलाउने तथा कोचिङ सेन्टरलाई विद्यालयका रूपमा प्रयोग गर्ने जस्ता गम्भीर बेथिति फेला परेको छ।
उपमहानगरपालिकाको शिक्षा समितिका अनुसार केही विद्यालयले एउटा संस्थाको नाममा अनुमति लिएर अर्कै नामबाट सञ्चालन गरिरहेका छन् भने कतिपयले अनुमति प्राप्त स्थानभन्दा फरक ठाउँमा विद्यालय सञ्चालन गरिरहेका छन्। यस्तै, अनुमति नलिएको कक्षा सञ्चालन गर्ने तथा न्यूनतम विद्यार्थी संख्या नपुग्दा पनि विद्यालय चलाइरहेका संस्थाहरू समेत भेटिएका छन्।
अनुगमनका क्रममा जनकपुरधाम–१३ स्थित न्यू पिनाकल एकेडेमी र जनकपुरधाम–८ स्थित नेशनल चिल्ड्रेन पार्क इङ्ग्लिस बोर्डिङ स्कुलमा गम्भीर अनियमितता भेटिएपछि दुवै विद्यालयलाई पाँच–पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
त्यसैगरी, जनकपुरधाम–२१ मा रहेको श्री लक्ष्मी सरस्वती पार्वती इङ्ग्लिस बोर्डिङ स्कुलले कक्षा ८ सम्मको अनुमति लिएर कक्षा १० सम्म सञ्चालन गरिरहेको पाइएपछि अतिरिक्त कक्षा बन्द गर्न निर्देशन दिँदै पाँच हजार रुपैयाँ जरिवाना गरिएको छ।
जनकपुरधाम–१३ स्थित जेम्स एकेडेमी स्कुलले अनुमति लिएको संस्थाको नामभन्दा फरक नामबाट विद्यालय सञ्चालन गरिरहेको पाइएपछि शिक्षा समितिले कक्षा ७ र ८ को अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
अनुगमनमा केही विद्यालयको अवस्था झन् चिन्ताजनक देखिएको छ। जनकपुरधाम–८ स्थित लिटल च्याम्प एजुकेशन प्रालिलाई पूर्ण रूपमा बन्द गर्न निर्देशन दिइएको छ भने सिद्धार्थ मन्टेश्वरी इङ्ग्लिस बोर्डिङ स्कुललाई अनुमति नलिई सञ्चालन गरेको भन्दै जरिवानासहित बन्द गर्न भनिएको छ।
यस्तै, जनकपुरधाम–२३ मा रहेको स्टुडेन्ट एकेडेमीले विद्यालय सञ्चालनको अनुमति नलिई शैक्षिक गतिविधि सञ्चालन गरिरहेको भेटिएपछि कानुनी प्रक्रिया पूरा गर्न चेतावनी दिइएको छ।
शिक्षा समितिका सदस्य दिपक ठाकुर ले शिक्षा क्षेत्रलाई व्यापारिक स्वार्थको माध्यम बनाउने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्। उनका अनुसार अनुगमनका क्रममा भेटिएका कमजोरी सुधार गर्न समय दिइएको छ र सुधार नगर्ने विद्यालयमाथि अनुमति खारेजीदेखि विद्यालय बन्दसम्मको कारबाही गरिनेछ।
उपमहानगरपालिकाले हालसम्म २० भन्दा बढी निजी विद्यालयको अनुगमन सम्पन्न गरिसकेको जनाएको छ। बाँकी विद्यालयहरूको पनि चरणबद्ध रूपमा निरीक्षण जारी रहेको र शिक्षा क्षेत्रमा अनुशासन तथा गुणस्तर कायम गर्न आवश्यक कानुनी कारबाही अघि बढाइने बताइएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको