जनकपुरधाम, साउन १३ — हिन्दु सम्राट नेपालले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाको सन्दर्भमा सरकारसमक्ष १४ बुँदे मागपत्र सार्वजनिक गरेको छ। संगठनले घटनामा संलग्न दोषीमाथि निष्पक्ष छानबिन गरी कडा कानुनी कारबाही गर्न, पीडितलाई न्याय दिलाउन तथा देशभर शान्ति–सुरक्षा सुदृढ बनाउन माग गरेको हो।
संगठनले घटनाको निष्पक्ष उच्चस्तरीय छानबिन गरी गोली चलाउने व्यक्ति, योजनाकार तथा घटनाको पृष्ठभूमि सार्वजनिक गर्नुपर्ने, मृतक तथा घाइतेका परिवारलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था गर्नुपर्ने तथा सुरक्षा व्यवस्थामा कमजोरी देखिएको भन्दै जिम्मेवार अधिकारीमाथि पनि कारबाही गर्नुपर्ने माग गरेको छ।
त्यस्तै, मागपत्रमा सीमापारबाट हुने अवैध घुसपैठ नियन्त्रण, सीमामा सुरक्षा व्यवस्था कडा बनाउन, देशभरका मदरसाको उच्चस्तरीय अनुगमन गर्न, मस्जिद तथा मदरसाभित्र हुने गतिविधिको छानबिन गर्न, फन्डिङ, आवतजावत गर्ने व्यक्ति र शंकास्पद गतिविधिको अनुसन्धान गर्नुपर्ने लगायतका विषय पनि समेटिएका छन्।
हिन्दु सम्राट नेपालले नेपाललाई वैदिक हिन्दु राष्ट्र घोषणा गर्न, मुस्लिम आयोग खारेज गर्न, देशभरका मस्जिदबाट ‘लाउड स्पिकर’ हटाउन तथा विदेशी तथा स्वदेशी आतंकवादी सञ्जालको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न समेत सरकारसँग माग गरेको छ।
संगठनले राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा प्रधानमन्त्रीका सल्लाहकार तथा संविधान संशोधन संयोजक मो. आसिम शाहलाई पदबाट हटाउनुपर्ने माग पनि अघि सारेको छ।
उक्त मागपत्र प्रधानमन्त्री, गृहमन्त्री, मधेश प्रदेशका मुख्यमन्त्री तथा गृहमन्त्री र देशभरका जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको जनाएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको