२७ साउन,सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजारसहित एक जनालाई पक्राउ गरेको छ।
भारतबाट सर्लाहीको बयलवासतर्फ ज.१० प ८६५२ नम्बरको स्कुटरमा हुण्डी कारोबारको रकम ल्याउँदै गरेको सूचनाका आधारमा प्रहरीले बरहथवा नगरपालिका–२ राजदेवी मन्दिर अगाडिबाट स्कुटर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाहीबाट खटिएको प्रहरी टोलीले स्कुटर रोकी जाँच गर्ने क्रममा चालकले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ ल्याएको स्रोत नखुलेको नेपाली रुपैयाँ फेला पारेको थियो।
प्रहरीले बरामद गरेको रकममा १ हजार रुपैयाँ दरका ३ हजार ५ सय थान, ५ सय रुपैयाँ दरका ३ हजार ३ सय ८ थान, १ सय रुपैयाँ दरका ७ सय थान र ५० रुपैयाँ दरका २ सय थान गरी जम्मा ५१ लाख ३४ हजार रुपैयाँ रहेको जनाएको छ।
रकमसँगै प्रहरीले ज.१० प ८६५२ नम्बरको स्कुटर र Redmi कम्पनीको मोबाइल समेत बरामद गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–११ बस्ने ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति, बरामद रकम, स्कुटर र मोबाइललाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरीले उक्त रकम हुण्डी कारोबारसँग सम्बन्धित हुनसक्ने आशंकामा थप अनुसन्धान अघि बढाएको जनाएको छ।
स्रोत नखुलेको ठूलो रकमसहित व्यक्ति पक्राउ परेको घटनालाई प्रहरीले अवैध वित्तीय कारोबार नियन्त्रणतर्फको महत्वपूर्ण कारबाहीका रूपमा लिएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको