२७ साउन, काठमाडौ । विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न निर्वाचन आयोगले कानुनी तथा सूचना प्रविधिको क्षेत्रमा आवश्यक सुधारका विषयमा अध्ययन गर्न दुई छुट्टाछुट्टै समिति गठन गर्ने निर्णय गरेको छ।
आयोगको संवत् २०८३ साउन २७ गते बसेको बैठकले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी तथा सूचना प्रविधिसम्बन्धी सुधारबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न आयोगका आयुक्तहरूको संयोजकत्वमा दुई समिति गठन गर्ने निर्णय गरेको हो। समितिहरूले काम प्रारम्भ गरेको मितिले तीन कार्यदिनभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ।
विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्थाबारे अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि रहनेछन्।
त्यस्तै, सूचना प्रविधिको प्रयोगबाट निर्वाचन प्रक्रियालाई थप समावेशी, सुरक्षित, पारदर्शी, प्रभावकारी, समावेशी तथा विश्वसनीय बनाउन आवश्यक सुधारबारे अध्ययन गर्न निर्वाचन आयुक्त डा. राजीव सुवेदीको संयोजकत्वमा अर्को समिति गठन गरिएको आयोगले जनाएको छ।
उक्त समितिमा परराष्ट्र मन्त्रालय, एकीकृत डाटा व्यवस्थापन केन्द्र, साइबर ब्युरो नेपाल प्रहरीलगायत सम्बन्धित निकायका प्रतिनिधि रहने व्यवस्था गरिएको छ।
आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार प्रदान गर्ने विषयमा कानुनी आधार, सूचना प्रविधिको प्रयोग, सुरक्षा, डेटा व्यवस्थापन तथा निर्वाचन प्रक्रियालाई विश्वसनीय बनाउने उपायबारे अध्ययनपछि प्राप्त सुझावका आधारमा आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
निर्वाचन आयोगले यसअघि पनि निर्वाचन प्रक्रियामा प्रविधिको प्रयोग, मतदाता शिक्षा तथा डिजिटल माध्यमबाट विश्वसनीय निर्वाचनसम्बन्धी सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको