३१ साउन, काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेलामा धर्मसम्बन्धी प्रस्ताव पारित गर्ने विषयलाई लिएर नेताहरू विमलेन्द्र निधि र प्रकाशशरण महतबीच मञ्चमै विवाद भएको छ। भेलामा नेता दीपक कुइँकेलले पारित गरिने प्रस्ताव रोस्ट्रमबाट प्रस्तुत गरिरहेका बेला नेता निधि उठेर रोस्ट्रमतर्फ गएपछि उनी र महतबीच कागज खोसाखोस भएको थियो। महतले निधिलाई रोक्दै उनलाई पुनः मञ्चमै फर्काएका थिए। धर्मसम्बन्धी प्रस्तावको भाषालाई लिएर दुई नेताबीच मतभेद भएको बताइएको छ। उक्त प्रस्ताव महतलगायत नेताहरूले तयार गरेका थिए। प्रस्तावमा नेपालको सनातन धर्म–संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोड्दै संरक्षण र प्रवर्द्धन गर्ने विषय समेटिएको थियो। एक नेताका अनुसार निधिले भने ‘धार्मिक स्वतन्त्रता’ भन्ने शब्दावलीमै सीमित रहनुपर्ने धारणा राखेका थिए। कांग्रेसले यसअघि नेपाललाई धार्मिक स्वतन्त्रताको पक्षमा स्पष्ट रूपमा प्रस्तुत गर्दै आएको भन्दै त्यसबाट अन्यथा जान नहुने उनको तर्क थियो। तर भेलाले महतलगायत नेताहरूले तयार गरेको प्रस्ताव पारित गरेको छ। पारित प्रस्तावमा भनिएको छ, ‘नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो।’ प्रस्तावमा नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै चलिआएका हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। यसअघि भेलामा देउवाले आफू हिन्दू भएको बताएका थिए। उनले आफू हिन्दू भए पनि सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने धारणा व्यक्त गरेका थिए। धर्मसम्बन्धी प्रस्तावमा भएको विवादले कांग्रेसभित्र धर्म, धार्मिक स्वतन्त्रता र सनातन धर्मलाई राष्ट्रिय पहिचानसँग जोड्ने विषयमा रहेको फरक दृष्टिकोणसमेत सतहमा ल्याएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: