२ भदौ , काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी विभिन्न तहका अधिवेशनको परिमार्जित कार्यतालिका सार्वजनिक गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुने महाधिवेशनको मिति यथावत् राख्दै वडा तहदेखि प्रदेश तहसम्मका अधिवेशनको नयाँ कार्यतालिका तय गरिएको हो।
केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार निर्वाचन प्रतिनिधिलाई भदौ २ देखि १० गतेसम्म काठमाडौं उपत्यका र उपत्यकाबाहिर अभिमुखीकरण तालिम प्रदान गरिनेछ। निर्वाचन अधिकृतलाई भदौ ११ गते जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि पठाइनेछ।
त्यस्तै, भदौ १६ देखि २० गतेसम्म वडामा निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम सञ्चालन हुनेछ। सम्पन्न हुन बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ।
कांग्रेसले ६ हजार ७४३ वटै वडामा भदौ २४ गते गाउँ–नगर वडा अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। त्यसबाट क्षेत्रीय प्रतिनिधि चयन गरिनेछ।
गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन भदौ ३१ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन असोज ३ गते गर्ने तय भएको छ। यी अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गरिनेछ।
त्यसपछि जिल्ला अधिवेशन असोज ७ गते र प्रदेश अधिवेशन असोज १० गते गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ।
अन्ततः नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा सम्पन्न हुनेछ।
केन्द्रीय कार्यसमितिको साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले पूर्वनिर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो। पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद र सहमतिको वातावरण बनाउन तथा भदौको सुरुआती वर्षाका कारण वडा, गाउँ–नगर, उपमहानगर, महानगर र क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै अन्य तहका अधिवेशनको समयतालिका परिमार्जन गरिएको कांग्रेसले जनाएको छ।
महाधिवेशनको तयारीस्वरूप केन्द्रीय निर्वाचन समितिले निर्वाचन प्रतिनिधि तोकेर अभिमुखीकरण कार्यक्रमसमेत सुरु गरिसकेको छ। साथै नेपाली जनसम्पर्क समिति अमेरिका, फ्रान्स, नेदरल्याण्ड, माल्टा, जापान, दक्षिण कोरियालगायत १५ देशमा अधिवेशन सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार नेपालको संविधान, प्रचलित कानुन तथा पार्टी विधानको व्यवस्थालाई ध्यानमा राखेर महाधिवेशनको प्रक्रिया अघि बढाइएको हो। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले विधानको धारा ३५ (२) (च) बमोजिम परिमार्जित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको