मधेश संवाददाता जनकपुर । धनुषाको सबैला नगरपालिका वडा नम्बर ५, मखनाहा बस्ने रुपेश कुमार यादव वैदेशिक रोजगारको क्रममा कतारमा सँगै काम गरेका आफ्नै साथीबाट ठगिएका छन् । २०६९ सालमा कतार स्थित वलोधिया कम्पनीमा राम्रो कमाइ गरेका रुपेशले सँगै बसेर काम गर्ने सप्तरी, लालापट्टीका रामानन्द यादवलाई उनका दाजु दुर्गानन्द यादवले सिरहामा बनाइरहेको बोर्डिंग स्कुलका लागि विभिन्न मितिमा लाखौ रुपैयाँ दिए । सुरुमा एकले अर्कोलाई परेको बेला सापटी लेनदेन गर्ने रकम इमान्दारी पुर्वक फिर्ता गरिदिने व्यवहार चलेको थियो । रामानन्द यादवका दाजु दुर्गानन्द यादव जो सिरहामै एउटा सामुदायिक विद्यालयका शिक्षक पनि छन्, उनले बोर्डिंग स्कुल सिरहामै खोले । दुर्गानन्दले कहिले स्कुलका लागि विद्यार्थी ओसार्न बस खरिद गर्न त कहिले कक्षाकोठाका लागि भनेर भवन निर्माण गर्न कतारमा काम गर्ने आफ्ना भाई रामानन्दसँग पैसा माग्थे । रामानन्दले आफुसँग भएको पैसाले नपुगेर धनुषाका साथी रुपेशसँग पनि पैसा सापटी लिएर दाजुको माग पुरा गरिरहन्थे । जब रुपेशले आफुले दिएको सापटी रकम फिर्ता माग्न थाले अनि रामानन्दले आफुले लिएको सबै रकम दाजुलाई स्कुलका लागि दिएको भन्दै नेपालमै फर्केर फिर्ता गर्ने भन्न थाले । उनीहरु विदामा नेपाल फर्किदा काठमाडौंमा बसेर रुपेशले विभिन्न मितिमा रामानन्दलाई दिएको सापटी रकमको हिसाब केलाउँदा आठ लाख रुपैयाँ दिएको भेट्यो । रामानन्दले गाउँ फर्किए लगत्तै सबै रकम फिर्ता गरिदिने आश्वासन दिए । तर गाउँ फर्किसकेपछि मन बदल्न सक्छ भन्दै रुपेशको आग्रह अनुसार उक्त रकमको कागज बनाइदिने सहमति भयो । र, रामानन्दले चार÷चार लाख रुपैयाँको तत्कालिन चलनचल्ती अनुसार लेखनदासको सुझाव मुताबिक दुई वटा कागज बनाइदिए ।