असार ११ लहान। प्रतिनिधि सभा सदस्य,नेकपा एमाले मधेश प्रदेशका इन्चार्ज एवं पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठले शिक्षामा भरपुर व्यापक लगानी बिना दिगो विकास सम्भव नरहेको जनाएको छ ।गोलबजार नगरपालिकाको १३औं नगरसभा अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले शिक्षा क्षेत्रमा गुणस्तरीय सुधार नआएसम्म विकासले उचित गति लिन नसक्ने प्रस्ट गर्नुभएको छ । श्रेष्ठले विकासलाई केवल सडक, भवन र भौतिक संरचना निर्माणसँग मात्र नजोड्न आग्रह गर्दै भने, “साँचो विकास त तब हुन्छ जब शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा समान रूपमा लगानी हुन्छ।” उनले प्रदेशको शैक्षिक अवस्था कमजोर रहेको उल्लेख गर्दै कम्तीमा २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माँग समेत गरे।उहाँले भने, “शिक्षा क्षेत्रको सवल विना हाम्राे अन्य प्रयासहरूले दीर्घकालीन परिणाम दिन सक्दैनन्। स्वास्थ्य र कृषि पनि आर्थिक, सामाजिक विकासका आधार हुन्, त्यसैले त्याे क्षेत्रमा समेत ठोस लगानी आवश्यक छ।”श्रेष्ठले जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्युटको विकासमा ढिलाइ भएकोप्रति चिन्ता व्यक्त गरे। उनले गोलबजार नगरपालिकालाई सो संस्थाको लागि आवश्यक जग्गा तत्काल निक्र्यौल गर्न आग्रह गर्दै भने, “गोलबजारलाई शिक्षाको ‘हब’ बनाउन जयगोविन्द साह पोलिटेक्निकल इन्स्टिच्युटजस्ता संस्थाको स्थापनामा प्राथमिकता दिन जरुरी छ। बजेट त आउने गर्छ तर काम नगरी फर्किन्छ, अब त्यो अवस्था तोड्नुपर्छ।” श्रेष्ठको भनाइले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै समावेशी र दिगो विकासको मार्गचित्र तय गर्नुपर्ने आवश्यकता औंल्याएको छ। गोलबजार नगरपालिकाको आगामी योजना र बजेट वितरणमा यसले गहिरो प्रभाव पार्ने अनुमान गर्ने जनाउनु भयो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: