माघ २०, सितामढी-भारत। नेपालमा हुन लागेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी भारतमा नक्कली नेपाली नोट छाप्ने गिरोह सक्रिय रहेको खुलासा भएको छ। भारतीय सुरक्षा निकायले भारत–नेपाल सीमावर्ती क्षेत्र रक्सौल आसपास अप्रेसन चलाउँदा ३ नेपाली नागरिकसहित १० जनालाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। पूर्वी चम्पारण प्रहरी र विशेष कार्य बल (STF) ले संयुक्त रूपमा सीतामढी जिल्लाको मेजरगंज क्षेत्रमा छापा मार्दा अत्याधुनिक उपकरणसहित नक्कली नोट छाप्ने कारखाना फेला परेको बताइएको छ। अप्रेसनका क्रममा करिब २५ लाख रुपैयाँ बराबरका नक्कली नेपाली नोट, १८ हजार ५ सय भारतीय नक्कली नोट, नोट छाप्ने हाई–टेक मेसिन, विशेष कागज, रसायन तथा अन्य सामग्री बरामद गरिएको भारतीय स्रोतले उल्लेख गरेका छन्। पक्राउ परेका १० जनामध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ। उनीहरूको पहिचान र नेटवर्कबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा नक्कली नेपाली नोट नेपालमा हुन लागेको निर्वाचनमा प्रयोग गर्ने उद्देश्य रहेको आशंका गरिएको भारतीय मिडियाले दाबी गरेका छन्। यस घटनाले सीमापार आर्थिक अपराध र निर्वाचन सुरक्षासम्बन्धी चिन्ता थप बढाएको छ। नेपालका सम्बन्धित निकायहरूले भने आधिकारिक धारणा सार्वजनिक गरिसकेका छैनन्। सुरक्षा विश्लेषकहरूका अनुसार नक्कली नोट प्रकरणले सीमा निगरानी, वित्तीय अपराध नियन्त्रण र चुनावी सुरक्षामा थप कडाइको आवश्यकता औंल्याएको छ। (स्रोत: भारतीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल रिपोर्ट)
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: