७ फागुन, कपिलवस्तु । महाराजगञ्ज क्षेत्रमा दुई समुदायबीच विवाद चर्किएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।
शनिबार बिहान बर्दगवामा ईद को नमाज चलिरहेका बेला मुस्लिम समुदाय प्रार्थनामा रहेको समयमा हिन्दू समुदायका तर्फबाट ठूलो आवाजमा भजन बजाइएको विषयमा विवाद सुरु भएको बताइएको छ। उक्त विवाद चर्किँदै जाँदा दुवै पक्षबीच झडप भएको हो।
झडपका क्रममा ५ जना प्रहरीसहित ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्य का अनुसार स्थिति थप बिग्रिन नदिन निषेधाज्ञा लागू गरिएको हो।
यसपटक राम नवमी र ईद एकै समयमा परेकाले दुवै पक्षबाट माइकको आवाज चर्को हुँदा तनाव बढेको स्थानीय स्रोतहरूले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले सम्भावित थप झडप रोक्न सभा, जुलुस, भेला लगायतका गतिविधि पूर्ण रूपमा निषेध गरेको जनाएको छ। प्रशासनका अनुसार बर्गदी पुलदेखि बहादुरगञ्ज चोक, महाराजगञ्ज बजार हुँदै हर्दौनासम्म निषेधाज्ञा लागू गरिएको छ।
हाल उक्त क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ भने स्थिति नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको