२६ बैशाख , काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आम नागरिकको सहभागिता बढाउने उद्देश्यले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।
आगामी सोमबार सार्वजनिक हुने सरकारको नीति तथा कार्यक्रमलाई जनमुखी, पारदर्शी र आवश्यकतामूलक बनाउन डिजिटल प्लेटफर्म सुरु गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। पोर्टलमार्फत देश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयगत विज्ञ तथा नीति निर्माताले विकासका प्राथमिकता, सेवा प्रवाह र बजेट निर्माणसम्बन्धी सुझाव प्रत्यक्ष रूपमा सरकारसमक्ष पेश गर्न सक्नेछन्।
सरकारका अनुसार नीति निर्माण प्रक्रियालाई सीमित प्रशासनिक घेराभन्दा बाहिर ल्याई जनभावनासँग जोड्ने उद्देश्यले यो पहल गरिएको हो। यसबाट नागरिक र राज्यबीचको दूरी कम हुने तथा सहभागी शासन प्रणालीलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
पोर्टलमा नागरिकले पठाएका सुझावहरूको अवस्थाबारे जानकारी लिन ‘सुझाव ट्र्याक’ गर्ने सुविधा समेत उपलब्ध गराइएको छ। मन्त्रिपरिषद्को आधिकारिक वेबसाइटमार्फत प्राप्त हुने सुझावहरूलाई गम्भीरतापूर्वक समीक्षा गरी आवश्यकताअनुसार नीतिगत रूपमा समावेश गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनअपेक्षाअनुसार प्रभावकारी बनाउन डिजिटल माध्यमबाट प्रत्यक्ष जनसहभागिता बढाउने प्रयासस्वरूप उक्त पोर्टल सञ्चालनमा ल्याएको जनाएको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको