१३ जेठ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनामा रवि लामिछाने सहित राष्ट्रिय स्वतन्त्र पार्टीका १७ जना सांसदमाथि अनुसन्धान गर्न सिफारिस गरेको छ।
आयोगले सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्किँदा कैदीबन्दी बाहिर पठाउने घटनामा संलग्नता रहेको किटान गर्दै उनीमाथि सूक्ष्म अनुसन्धान गर्न सुझाव दिएको हो। सोही घटनामा रास्वपाका प्रवक्ता मनिष झा र नेता हरि ढकाल माथि पनि अनुसन्धान गर्न भनिएको छ।
आयोगले रास्वपाका सांसदहरू सुधन गुरुङ, दीपक बोहरा, गणेश कार्की, सुलभ खरेल, शिव यादव, बब्लु गुप्ता, कृष्णकुमार कार्की, डा. तोसिमा कार्की, राजीव खत्री, केपी खनाल, आशिका तामाङ, ज्वाला संग्रौला, सोम शर्मा र पुरुषोत्तम यादवमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको जनाएको छ।
त्यसैगरी रास्वपा केन्द्रीय सदस्य खेमराज साउद तथा बाजुराबाट रास्वपा उम्मेदवार बनेका हेमराज थापामाथि समेत अनुसन्धान गर्न आयोगले भनेको छ।
आयोगका अनुसार प्रदर्शनअघि, प्रदर्शनका क्रममा तथा त्यसपछि उनीहरूले दिएका सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल गतिविधि, राष्ट्रिय अनुसन्धान विभागले संकलन गरेको सूचना तथा प्रकाशित समाचारका आधारमा अनुसन्धानको आवश्यकता देखिएको हो।
प्रतिवेदनमा उनीहरूको अभिव्यक्तिले प्रदर्शनकारीलाई उत्तेजित बनाउन भूमिका खेलेको हुनसक्ने उल्लेख गरिएको छ। साथै, ती अभिव्यक्तिबाट सार्वजनिक शान्ति, सुरक्षा र सुव्यवस्थामा असर परेको वा नपरेको तथा हिंसात्मक गतिविधिलाई दुरुत्साहन गरिएको हो वा होइन भन्ने विषयमा अनुसन्धान आवश्यक रहेको आयोगको निष्कर्ष छ।
राष्ट्रिय मानवअधिकार आयोगले भदौ २३ गतेको प्रदर्शनमा भएको दमन तथा भोलिपल्ट भएका हिंसात्मक घटनाबारे छानबिन गरेर बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो। आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा गठित समितिले उक्त घटनाबारे अनुसन्धान गरेको थियो।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको