३ अषाढ, जनकपुरधाम। नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाले क्षयरोग निवारण अभियानलाई विद्यालय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिका–११ स्थित अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा ‘जुनियर नाटा’ इकाइ गठन गरेको छ। बुधबार आयोजित पाँचदेखि नौ कक्षासम्म अध्ययनरत ५१ जना विद्यार्थीहरूको भेलाले विवेककुमार महासेठको संयोजकत्वमा १५ सदस्यीय ‘जुनियर नाटा अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूल’ समिति गठन गरेको हो। नवगठित समितिको उपसंयोजकमा सोनाक्षी ठाकुर, सचिवमा सुवेश्वर यादव, कोषाध्यक्षमा आयुषि पटेल तथा सहसचिवमा अनुष्का शर्मा चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा ऋषि साह, आर्या ठाकुर, प्रिन्स साह, रिया साह, प्रिन्स साह (ए), शालु ठाकुर, दीपेश महतो, सत्यम राय, नेहा साह र मो. हासिर शेख रहेका छन्। नेपाल क्षयरोग निवारण संस्थाले विद्यालयस्तरमा विद्यार्थीहरूको सहभागिता बढाउँदै क्षयरोगबारे जनचेतना अभिवृद्धि गर्ने, रोगको रोकथाम तथा नियन्त्रणमा समुदायलाई सचेत बनाउने उद्देश्यले ‘जुनियर नाटा’ अभियान सञ्चालन गर्दै आएको छ। विद्यालयमा गठन गरिएको उक्त इकाइले क्षयरोग निवारण सम्बन्धी सचेतनामूलक कार्यक्रम, स्वास्थ्य शिक्षा तथा समुदायस्तरीय गतिविधिहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: