२२ भदौ , सिरहा। नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले सिरहाका पूर्व केन्द्रीय सदस्य पदम नारायण चौधरी र महाधिवेशन प्रतिनिधि सन्तोष चौधरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी ६ महिनाका लागि निष्कासन गरेको छ।निष्कासनमा परेका पदम नारायण चौधरी र सन्तोष चौधरी बुवा–छोरा हुन्। उनीहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा कारबाही गरिएको हो।
फागुन २२गते सम्पन्न प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा सिरहा १ बाट नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार रामसुन्दर चौधरीलाई असहयोग गरेको भन्दै चौधरीद्वयविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो।उजुरीमाथि छानबिन गर्ने क्रममा अनुशासन समितिले दुवै जनासँग लिखित स्पष्टीकरण मागेको थियो। तर, समितिले मागेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको निष्कर्ष निकाल्दै पार्टी विधान तथा नियमावलीअनुसार कारबाही गर्ने निर्णय गरेको जनाएको छ।
केन्द्रीय अनुशासन समितिको २०८३ भदौ १८ गते बसेको बैठकको निर्णयअनुसार पदम नारायण चौधरी र सन्तोष चौधरीलाई ६ महिनाका लागि नेपाली कांग्रेसको सदस्यतासमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको हो।समितिका सचिव दिनेश थापामगरले हस्ताक्षर गरेको कारबाहीसम्बन्धी पत्रमा नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) तथा नियमावली, २०७६ बमोजिम दुवै जनामाथि कारबाही गरिएको उल्लेख छ।
कारबाहीको जानकारीसहित जारी गरिएको पत्रको बोधार्थ नेपाली कांग्रेस सदस्य व्यवस्थापन केन्द्रीय समिति, मधेश प्रदेश कार्यसमिति र नेपाली कांग्रेस सिरहा जिल्ला कार्यसमितिलाई समेत पठाइएको छ।
पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध असहयोग गरेको आरोपमा सिरहाका प्रभावशाली कांग्रेस नेताद्वयमाथि भएको यो कारबाहीले जिल्लाको पार्टीभित्रको राजनीतिक समीकरणमा समेत प्रभाव पार्न सक्ने देखिएको छ। पार्टी अनुशासन उल्लंघनका विषयमा केन्द्रीय तहबाटै कारबाही भएपछि स्थानीय कांग्रेस वृत्तमा यसलाई चासोका साथ हेरिरहेकाे देखिन्छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको