४ असोज, काठमाडौ। मौसमविद् विनोद पोखरेलले आगामी असोज ८ देखि १२ गतेसम्म नेपालका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै नागरिकलाई समयमै सतर्कता अपनाउन आग्रह गरेका छन्।
विभिन्न मौसम पूर्वानुमान मोडलहरूको विश्लेषणअनुसार उक्त अवधिमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुनसक्ने सम्भावना देखिएको पोखरेलले बताएका छन्। केही मोडलले ७४१ मिलिमिटरसम्म वर्षा हुनसक्ने संकेत गरेको भए पनि यो प्रारम्भिक पूर्वानुमान भएकाले वास्तविक वर्षाको मात्रा र प्रभाव स्थानअनुसार फरक पर्न सक्ने उनले स्पष्ट पारेका छन्।
असोज ८ देखि वर्षा सक्रिय हुने अनुमान
पोखरेलका अनुसार असोज ८ गते मनसुनी रेखा सक्रिय भई कोशी, बागमती र गण्डकी प्रदेशका पूर्वी तथा मध्य भूभागमा बदली सुरु हुनसक्नेछ। अधिकांश स्थानमा मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।
असोज ९ गते कोशी, बागमती र मधेश प्रदेशका तराई तथा पहाडी क्षेत्रमा वर्षाको तीव्रता बढ्दै मध्यमदेखि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ।
असोज १० गते सबैभन्दा बढी जोखिम हुनसक्ने दिनका रूपमा उल्लेख गरिएको छ। उक्त दिन काठमाडौं उपत्यकासहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा अति भारी वर्षा हुनसक्ने सम्भावना औँल्याइएको छ।
त्यसैगरी, असोज ११ गते पश्चिमी क्षेत्रमा मौसम बढी सक्रिय हुनसक्ने र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा वर्षाको प्रभाव बढ्नसक्ने बताइएको छ। पूर्वी तथा मध्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षा जारी रहनसक्ने अनुमान छ।
असोज १२ गतेदेखि मौसम प्रणाली क्रमशः कमजोर हुँदै पश्चिमतर्फ सर्ने सम्भावना रहे पनि केही पहाडी क्षेत्रमा छिटफुटदेखि मध्यम वर्षा कायम रहनसक्ने जनाइएको छ।
पहिरो र बाढीको जोखिमप्रति सचेत रहन आग्रह
सम्भावित भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा पानीको बहाव बढेर बाढीको जोखिम हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिक र यात्रुहरूलाई आवश्यक सावधानी अपनाउन मौसमविद् पोखरेलले आग्रह गरेका छन्।
उनले यो जानकारी डर फैलाउने उद्देश्यले नभई सम्भावित जोखिमप्रति समयमै तयारी र सचेतना अपनाउन सार्वजनिक गरिएको स्पष्ट पारेका छन्।
मौसमको वास्तविक अवस्था तथा अद्यावधिक पूर्वानुमानका लागि जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचना नियमित रूपमा पछ्याउनसमेत आग्रह गरिएको छ।
Copyright © 2026, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: