सुरेश यादव /मधेश अनलाइन मुलुकका तेस्रो राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न दुई दिन बाँकी रहँदा आज प्रचण्ड नेतृत्वको गठबन्धनबाट केपी ओली नेतृत्वको एमाले आउट हुने संकेत देखिएको छ । विगतमा आफ्नै पार्टीमा पनि आफ्नो आलोचना गर्ने नेतालाई तह लगाउने र आफ्नो स्वार्थ सिद्ध गर्न संविधानलाई समेत लत्याउन पछि नपर्ने प्रवृतिका कारण ओलीमाथि भरोसा गर्न नसकिने ठहर गर्दै माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै पुरानो गठबन्धन ब्युँतिएको संकेत दिनेगरी नयाँ समझदारी गर्ने सम्भावना रहेको छ । बुधबार अबेर साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले बुधबारै बिहान एमाले अध्यक्ष ओलीसँग भएको भेट लगत्तै पुरानो गठबन्धनको औचित्य लगभग सकिएको बताएका थिए । ओलीले अहिले नै अगामी दिनको सम्बन्ध राम्रो हुन नसक्ने संकेत गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले देउवासँग पुरानो गठबन्धनलाई ब्युँताउनेगरी नयाँ सहमति गर्नुको विकल्प नरहेको बताएका थिए । आज प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीसँग छुट्टाछुट्टै छलफल गरिसकेपछि साँझसम्म नेपाली कांग्रेस, नेकपा (एस), जसपा, लोसपा लगायत केही साना दलहरुसँग पनि नयाँ सहमति गर्ने मुडमा रहेको बालुवाटारस्रोतले जनाएको छ । पछिल्लो पटक ओली निवास बालकोटमा भएको भेटघाटको क्रममा दाहाललाई केही बोल्नै नदिई ओली एक्लैले बोलेको र सो क्रममा दम्भकै भाषा प्रयोग गरेको प्रसंग सुनाउँदै प्रधानमन्त्री दाहाल निकट स्रोतले भन्यो, बालुवाटारमा आउँदा पनि साथ र समर्थनभन्दा बढी आफुले नै हो प्रधानमन्त्री बनाइदिएको जस्तो भावयुक्त भाषामा धम्कीपूर्ण कुराकानी गर्ने एमाले अध्यक्ष ओलीको भर पर्न नसकिने निचोडमा प्रधानमन्त्री प्रचण्ड पुगिसकेका छन् । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि यहीँ शनिबार उम्मेदवारी दर्ता हुन गइरहेको छ । त्यस अगावै नयाँ गठबन्धन वा पुरानो गठबन्धन वा दलहरुले राष्ट्रपतिको उम्मेदवार चयन सम्बन्धमा प्रष्ट भइसक्नुपर्ने बाध्यता छ । यसका लागि पुस १० गते प्रधानमन्त्री पद दिएर राष्ट्रपति आफुले पाउनुपर्ने सहमति भएको रटान एमालेका नेताहरुले लगाउँदै आएका छन् । यसै सिलसिलामा एमाले अध्यक्ष ओलीले करिब तीन दर्जन पटक प्रधानमन्त्री प्रचण्डसँग भेट गरिसकेका छन् । उनले जुनसुकै हालतमा आफुले राष्ट्रपति पाउनुपर्ने कसरतमा लागेका छन् । तर, राष्ट्रपतिको निर्वाचनमा परिणाम ल्याउन निर्णायक गणितीय भूमिकामा रहेको माओवादीको तर्फबाट ग्रिन सिग्नल नपाएपछि हातबाट जाने नै भो भनेर कमसेकम कांग्रेस इत्तर जुनसुकै दल वा व्यक्तिले पनि राष्ट्रपति पाए हुन्थ्यो भन्ने दाउमा लागेका ओलीको कुटनीतिक चाल आजबाट लगभग असफल हुने संकेत देखिएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: