नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय सहमति जुट्यो भने आफु राष्ट्रपति पदमा जान तयार रहेको बताएका छन् । एमालेले गरेको प्रस्तावमा खोंट देखाउँदै नेपालले राष्ट्रपति र उपराष्ट्रपति अनि सरकार लगायतको विषयमा राष्ट्रिय सहमति कायम गर्न सकिए मुलुकको हित हुने उल्लेख गर्दै त्यस्तो अवस्था कायम हुन नसके एमालेको प्रस्ताव मात्रै पर्याप्त नरहेको बताएका हुन् ।
बिहीबार साँझ नेकपा माओवादी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीबीच संयुक्त छलफल भएको छ । छलफलले अबका दिनमा तीन वटै पार्टी मोर्चा बनाएर अघि बढ्न सहमत भएको बैठकमा सहभागी एक जना नेताले जानकारी दिए । नेपाली कांग्रेस सहित चारवटै दलको संयुक्त बैठक भोली शुक्रबार बिहान बस्ने तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति पद राष्ट्रिय सहमतिमा टुंग्याउन चाहेका छन् भने एमाले यसका लागि सकारात्मक नदेखिएपछि माओवादीले जसपा, एकीकृत समाजवादी र कांग्रेससँग सहकार्य गरेर अघि बढ्न सहमतिका लागि अग्रसरता लिइरहेको छ ।
छलफलको क्रममा नेपालले कांग्रेस र एमालेको तर्फबाट उम्मेदवारी नै नपर्ने अवस्था आए मात्र आफु राष्ट्रपति पदमा जान तयार रहेको बताएका थिए । तर, त्यस्तो अवस्था आउन सक्ने संकेत नरहेको सन्दर्भ पनि छलफलको क्रममा आएको थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको