राष्ट्रपति निर्वाचनको लागि उम्मेदवारी दर्ता हुन केही घण्टा बाँकी रहँदा प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको दल माओवादी केन्द्र समेत आठ राजनीतिक दलले कांग्रेसलाई समर्थन गर्ने सहमति भएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न दलहरुको बैठकबाट यस्तो निर्णय भएको हो । राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने र उपराष्ट्रपति लगायत अगामी सत्ता साझेदारका विषयमा राष्ट्रपतिको उम्मेदवारी दर्ता पश्चात कार्यदल बनाएर टुंग्याउने सहमति भएको एकीकृत समाजवादी पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिए । राष्ट्रपतिमा कांग्रेसलाई माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी पार्टी, जनमत, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने सहमति भएको हो । कांग्रेस लगायत दलको गठबन्धन भत्काउँदै एमाले अध्यक्ष ओलीको सक्रियता र अगुवाइमा गठबन्धन बनेको दुई महिना नपुग्दै कांग्रेसले राष्ट्रपति पाउने गरी नयाँ समिकरण बन्न पुगेको हो । शनिबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जारी गरेको समय तालिका छ । आठ दलले कांग्रेसलाई राष्ट्रपति पदमा समर्थन गर्न सहमत भएपनि राष्ट्रपति पदको उम्मेदवार भने कांग्रेस आफैले टुंग्याउने छ । उम्मेदवार चयन गर्न कांग्रेसले शनिबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: