सुरेश यादव, मधेश अनलाइन । सिरहाको सुखीपुर नगरपालिका –२ मा एउटा गाउँ छ ‘छजना’ । छजना चोकदेखि पूर्व एउटा पोखरीको डिलमा निर्माणाधिन मन्दिर छ । मन्दिर परिसरमा १ सय २२ वर्षीय सन्त बस्छन्, विष्णु दास । स्थानीयले उनलाई ‘श्री श्री १०८ श्री विष्णु दासजी महाराज’ नामले सम्बोधन गर्दा रहेछन् । गत माघ महिनामा उनकै अगुवाइमा छजनामा वरुण महायज्ञ सम्पन्न भएको छ । सोही महायज्ञ आयोजनाका लागि विष्णु दास छजना आएका हुन् । महायज्ञ सम्पन्न भएपछि उनी यहीँ बस्न थालेका छन् । समयको हिसाबले उनी यहाँ आएको चार महिना नपुगेपनि गाउँले र आसपासका बासिन्दाहरुले उनलाई पहिल्यैदेखि चिनेको जस्तो व्यवहार गर्छन् । उमेर नै १ सय २२ वर्ष पुगिसक्यो । स्वभाविक रुपमा शरीर अशक्त भएको छ । तर, उनी अहिले पनि सहजै बोल्न सकिरहेका छन् । शारीरिक अशक्तताले हिँड्डुल गर्न कठिनाइ भएपनि पूर्ण होस् हवासमा रहेको उनीसँग भेटेपछि बुझ्न सकिन्छ । च्यवनप्रास र दूध अनि रोटी, दाल र समान्य सब्जी उनको नियमित खान्की हो । वैशाख २० गते साँझ जनतीको सिलसिलामा म पहिलो पटक यो गाउँमा पुगें । यहाँ आइपुगिसकेपछि मात्रै सन्त विष्णु दास जीको वारेमा जानकारी भयो । गाउँमै आएको बेला ती ऐतिहासिक पुरुषलाई भेट नगरी फर्किने कुरै भएन । अन्य साथीहरुसँगै उनी बसिरहेको मन्दिरमा पुगें । उहाँलाई भेट्न गाउँलेहरुको भिड लागिरहेको थियो । छिमेकी गाउँहरुबाट समेत दिनहुँ सन्तलाई भेट्न भिड लाग्ने गरेको स्थानीयले बताए । सबैले भगवानकै रुपमा उहाँप्रति सम्मान र श्रद्धा प्रकट गर्ने गरेको सन्त विष्णु दास जीका सहयोगी बलराम यादवले जानकारी दिए । उहाँलाई मेरो पहिलो प्रश्न थियो, ‘एक सय २२ वर्ष उमेर पुगिसक्यो भन्ने सुनेको छु, तपाइको उमेर प्रमाणित हुने नागरिकता छ ?’ विष्णु दास जीः मलाई किन चाहियो नागरिकता ? मैले राज्यसँग कहिले के मागेको छु ? यो दुनियाँमा जे जति सम्पत्ति छ सबै मेरै हो । यहाँबाट जहाँसम्म तिम्रो नजर पुग्छ सबै मेरै त हो । जिज्ञासाः उमेरको हिसाबले तपाइलाई राण शासन कालको वारेमा राम्रो अवगत हुनुपर्ने हो । होइन त ? विष्णु दास जीः हो, छ । राणा शासन कालमा जातीय व्यवस्था थियो त्यसले सामाजिक अनुशासन कायम गरेको थियो । नियम र कानून कडा थियो त्यसले अपराध लगभग शून्य थियो । समाजमा सद्भाव थियो । परोपकारी भावना पनि । जिज्ञासाः राणा शासन पनि देशमा राजतन्त्र आयो र गयो पनि । अहिले नेपालमा गणतान्त्रिक राजनीतिक व्यवस्था अभ्यासमा छ । तपाइलाई यी मध्ये कुन शासन व्यवस्था मन पर्छ ? विष्णु दास जीः जंगबहादुरको शासन व्यवस्था अन्त्य हुनु स्वभाविक थियो । उसले जनताका छोराछोरीलाई पढ्न लेख्न बन्देज गरेको थियो । जनतामा स्वतन्त्रता नामको कुरै थिएन । राजा विरेन्द्रको अन्त्य अस्वभाविक हो । उसले जनतालाई माया गर्थे । जनताका छोराछोरीलाई पढ्न लेख्न बन्दोबस्ती गरे । प्रजाको न्यायप्रति राजा सजग हुन्थ्यो । जब उनको अन्त्य भयो अनि राज्य छिन्नभिन्न हुनपुग्यो । गणतन्त्र ठिक कि बेठिक भन्दा पनि अहिले कलयुग हो । बाँकी तिमीहरुलाई थाहै छ । जिज्ञासाः तपाइ म जस्तो उमेरमा हुँदा भौतिक सुविधा कम थियो होला । अस्पतालहरु पनि अहिलेको जस्तो यत्रतत्र थिएन सायद । अहिले अस्पतालहरु धेरै खुले अनि बिरामी पनि बढ्दै गइरहेको छ । यस्तो किन होला तपाइको विचारमा ? विष्णु दास जीः त्यो बेला म ८–९ सेर दही खाइदिन्थें । त्यतिले पनि मन भरेन भने दुईतीन सेर दूध पनि खाइदिन्थे । अहिले तिमीहरु के खाइरहेका छौं ? अनि स्वास्थ्य र निरोगीको कुरा गरेर हुँदैन नि ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: