सुरेश यादव
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित जनकपुर चुरोट कारखानाले आफ्नो पहिचान गुमाउँदै छ । ‘जनकपुर चुरोट कारखाना लिमिटेड’ यस कारखानाको वैधानिक नाम हो । छोटकरीमा जचुकालि भनेर उच्चारण हुन्थ्यो । प्रदेश सरकारले मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गरेर ‘मधेश भवन’ नामकरण गरिदिएपनि अझै बोलीचालीमा ‘जचुकालि’ नामले नै परिचित छ ।
वि.सं. २०१५ सालमा पहिलो पटक नेपालमा आम निर्वाचन भएको थियो । १०९ सिटको लागि भएको निर्वाचनमा ७४ सिट सहित दुई तिहाइ जितेको थियो नेपाली कांग्रेस । नेपाली कांग्रेसका नेता रामनारायण मिश्रले पार्टीका तत्कालिन सभापति समेत रहेका प्रधानमन्त्री विपि कोइरालाको सहयोगमा जनकपुर चुरोट कारखाना स्थापना गराएका थिए । नेपाल र रुसबीचको सम्बन्ध अझ प्रगाढ बनाउन भन्दै शोभियत संघले जनकपुरमा चुरोट कारखाना र वीरगंजमा चिनी मिल स्थापनाका लागि भौतिक पूर्वाधार निर्माण गरिदिएको थियो ।
वि.सं. २०२१ साल पुस २९ गते तत्कालिन राजा महेन्द्र शाहले उद्घाटन गरेपछि संचालनमा आएको यो कारखाना मधेश प्रदेश सरकारको मुकाममा परिणत भएको छ । कारखानाको उत्पादन परिसरमा मुख्यमन्त्रीको कार्यालय संचालनमा छ । प्रशासनिक भवनहरु प्रयोगहिन अवस्थामा छ भने कर्मचारी बस्ने भवनहरुमा प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको साइनबोर्ड झुन्ड्याइएको छ । कारखानाका व्यवस्थापक र प्रबन्धक बस्ने आवास मन्त्रीको आवासमा परिणत भएको छ । कामदार बस्ने भवनहरु प्रदेश सरकारका कर्मचारीले कब्जा गरेका छन् ।
सोभियत संघको प्राविधिक सहयोगमा निर्मित यो कारखाना कृषिमा आधारित आयात प्रतिस्थापन गरी राजश्वमा योगदान गर्ने उत्पादन मुलक उद्योगहरुमध्ये नेपालकै सबैभन्दा बढी राजश्व सरकारलाई बुझाउने पहिचान पाएको थियो । कारखानाको सुरुवाती अवस्थामा अधिकृत पूँजी ८ करोड जारी तथा चुक्ता पूँजी ४ करोड ८ लाख ३७ हजार लगानी गरिएको थियो । ३ सय ६६ जनालाई रोजगार दिएर शुभारम्भ गरेको कारखानाले त्यस बखत वार्षिक २ अर्ब खिल्ली चुरोट उत्पादन गरिरहेको थियो । देउराली, याक र गैंडा जनकपुर चुरोट कारखानाको प्रारम्भिक र लोकप्रिय ब्राण्ड बनेको थियो ।
३३ विगाहा ९ कट्ठा क्षेत्रफलमा स्थापना भएको कारखानालाई तीन भागमा व्यवस्थित गरिएको छ । उत्पादन क्षेत्र ८ विगाहामा फैलिएको छ । करिब साढे २० विगाहा क्षेत्रफल आवास क्षेत्र हो । ५ विगाहामा गोदाम घर छ । आवास क्षेत्रमा विभिन्न श्रेणीका अधिकारी, कर्मचारी तथा कामदारका लागि २५ वटा छुट्टाछुट्टै कम्पाउन्ड सहितको भवन निर्माण गरिएको थियो । ती भवनहरुमा सय भन्दा बढी कोठाहरु छन् । यी बाहेक कारखानालाई चाहिने सुर्ती संकलन र व्यवस्थापनका लागि विभिन्न जिल्लामा र बजार प्रबद्र्धन गर्न काठमाडौंमा पनि जनकपुर चुरोट कारखाना लिमिटेडकै स्वामित्वमा जग्गा तथा भवनहरु व्यवस्थापन गरिएको थियो ।

जब कारखानामा सायरन बज्थ्यो…
अहिले पनि ‘कोर ग्रामिण भेग’ मा कुखुरा बासेपछि परिवारका सदस्यहरु ब्यँुझन्छन् र नित्यकर्ममा लाग्छन् । जनकपुर चुरोट कारखाना सुचारु अवस्थामा रहेसम्म त्यहाँका कामदारका लागि व्यवस्था गरिएको सायरन जब बज्थ्यो, आम जनकपुरबासीले ब्यूँझ्थे । अपरान्ह ३ बजे र राति १० बजे पनि बज्ने जचुकालिको सायरनले कारखानाका कर्मचारी, कामदारसमेत जनकपुरबासीलाई बिहान ओछ्यान छोड्नदेखि राति ओछ्यानमा पुग्नेसम्म दिनभरको समय तालिका पालना गर्न अभ्यस्त गराएको थियो । कारखाना बन्द भएपछि त्यो सायरनमात्र बन्द भएन, जनकपुरबासीको दैनिक समय तालिका पनि बिग्रिन पुगेको जचुकालि छेउका बासिन्दा रामविनय यादव बताउँछन् ।

यसरी धारासायी भयो जचुकालि
कारखानाले गर्ने उत्पादन र बजारको अवस्था समान्य तलमाथि भइरहेपनि वि.सं. २०२१ सालदेखि २०६८ सम्म एकसरो चलिरहेको थियो । देशमा प्रजातन्त्र आएपछि जचुकालिमा प्रत्यक्ष रुपमा राजनीतिले प्रवेश पायो । २०२१ देखि ०४६ सालसम्म निरन्तर प्रगतिमा रहेको कारखाना देशमा प्रजातन्त्र पुनस्र्थापना भएपछि मजदुरहरुले कारखानाभित्रै राजनीतिक अभ्यास गर्न थाल्यो । कारखाना व्यवस्थापनको भूमिकामा रहेका पदाधिकारीहरुले नै क्षणिक स्वार्थ पुर्तिका लागि मजदुरलाई उकास्न सुरु गरे । विस्तारै मजदुर संगठन पनि विभिन्न दलको सहारा लिँदै विभाजित हुन थाल्यो । कसैले क्षणिक लाभ पाएपनि कारखानाको अवनति सोही बेलादेखि सुरु भएको थियो ।
जनकपुर चुरोट कारखाना लिमिटेडका पुर्व निर्देशक अनुराग गिरी कारखाना बन्द हुनुको मुख्य कारण राजनीति नै देख्छन् । ‘धेरैले धेरै कारण भन्लान् तर म त जनकपुर चुरोट कारखाना बन्द हुनुको एकमात्र कारण राजनीति रहेको भन्छु’ गिरी भन्छन्, ‘मैले भनेको सुन्दा नराम्रो लाग्ला तर सत्य भन्नै पर्छ । प्रजातन्त्र पुनर्वहाली भएदेखि कारखानामा ग्रहण लाग्न सुरु भयो । गणतन्त्र आएपछि उत्पादन नै बन्द भयो । प्रदेश सरकार आएपछि कारखानाको अस्तित्व समेत नरहने अवस्था आएको छ जो सबै सामु छर्लंग छ ।’
राज्यलाई सबैभन्दा बढी राजश्व बुझाउने, देशमै सबैभन्दा बढी खेलाडी उत्पादन गर्ने र जनकपुरको भौतिक पूर्वाधारमा अपूर्व लगानी गर्ने चुरोट कारखाना यति छिटो धारासायी हुनसक्छ भनेर अहिले पनि विश्वास कठिन भइरहेको गिरीको भनाइ छ । उनले थपे, ‘एउटा सानो प्रसंग सुनाउँछु जो तपाइहरुले पनि अनुमान गर्न सक्नुहुन्छ । सुर्ती विकास कम्पनीले कृषकलाई सुर्ती उत्पादन गर्ने खेतीमा प्रोत्साहित गथ्र्यो । किसानले गरेको उत्पादन खरिद गर्ने कारखानालाई उपलब्ध गराउने र त्यहाँबाट आउने रकमको तोकिएको प्रतिशत रकम राखेर नाफाको बाँकी रकम किसानलाई बाँड्थ्यो । यस्तो काम गर्ने कम्पनी घाटामा जान सक्छ ? तर, त्यस्तै भनियो । त्यो कम्पनी पनि घाटा लाग्यो भनेर बन्द गरियो । यो भन्दा हास्यास्पद कुरा के हुन सक्छ ?’
मुख्यतः दुई प्रकारको ‘राजनीति’ नामक रोग लागेर मुलुककै सबैभन्दा राम्रो अवस्थामा संचालन भइरहेको जनकपुर चुरोट कारखाना धारासायी भएको पूर्व निर्देशक गिरीको बुझाइ छ । २०४१ सालगिर दैनिक २५ रुपैयाँ ज्यालामा काम सुरु गरेका गिरी निर्देशक गणतन्त्र आइसकेपछि निर्देशक पदबाट अवकास लिएका थिए । उनी भन्छन्, ‘जनकपुर चुरोट कारखानालाई ध्वस्त गर्न भित्र र बाहिरबाट पनि राजनीतिक आक्रमणहरु हुन थाल्यो । अन्ततः उत्पादन रोक्दै कारखाना नै बन्द गराएर छोड्यो ।’
गिरीका अनुसार कारखानामा मजदुर युनियन गठन गर्न ३३ प्रतिशत प्लस १ जना आवश्यक हुने कानुनी प्रावधान थियो । सुरुमा त्यस्तै हुन्थ्यो पनि । जब राजनीति हावी भयो अनि कानुनलाई पनि बेवास्ता गर्न थालियो र बढीमा तीनवटा सम्म हुनुपर्नेमा १० वटा मजदुर युनियन नै बन्यो । एउटा युनियनमा कम्तीमा ११ जना मजदुर नेता हुन्थे । उनीहरुले काम गर्न पर्दैनथ्यो । १० वटा युनियनका १ सय १० जना त नेता नै भयो । उनीहरुका आसेपासेहरुले पनि काम नगरी नेतागिरीमा उत्रिन थालेपछि विस्तारै उत्पादन प्रभावित हुन थाल्यो ।
अर्को तर्फ, कारखानामै काम गरेकाहरुको कार्यक्षमताको आधारमा ज्येष्ठ अनुभवीलाई महाप्रबन्धकको जिम्मेवारी तोकिने गरेकोमा राजनीति हावी भएदेखि त्यो सुन्दर व्यवस्था पनि उल्ट्याइएको गिरीले सुनाउँछन् । उनले भने, ‘महाप्रबन्धक जस्तो संवेदनशिल पदमा समान्य अनुभव पनि नभएका व्यक्तिहरु राजनीतिक नियुक्ति पाएर आउन थाल्यो । तल मजदुर वर्गमा चरम राजनीतिक प्रभाव परेकै थियो । अनुभवहिन नेतृत्वले समयमा कच्चा पदार्थ आपुर्ति नगर्ने, उत्पादनलाई बजार उपलब्ध गराउन नसक्ने र मजदुरलाई आवश्यक्ता अनुरुप परिचालन पनि गर्न नसक्ने जस्ता समस्याहरु एकैसाथ देखिन थाल्यो । आखिर त्यहीँ भयो जे नहुनुपर्ने थियो ।’ बाहिर सूर्या टोबाकोलाई प्रबद्र्धन गर्न जचुकालिलाई डुबाएको वा अन्य जे जस्तो कारण बताइएपनि जचुकालि धारासायी हुनुको असली कारण राजनीति नै भएको उनले जिकिर गरे ।

एक मन्त्री भन्छन्, ‘चलाउँछौं’, अर्को भन्छन्, ‘कुनै सम्भावना छैन’
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जनकपुर चुरोट कारखाना चल्ने सम्भावना नभएको संसदमा भनेका छन् । पछिल्लो बजेट ल्याउने प्रक्रिया अगाडी बढिरहेको बेला राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले जनकपुर चुरोट कारखाना सञ्चालनको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।
रुग्ण उद्योग सञ्चालन गर्ने विषयमा बहस भइरहेको अवस्थामा उद्योग मन्त्री रिजालले जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नदेखेको जनाए। उनले अन्य रुग्ण उद्योगहरु सञ्चालनको मोडालिटी सम्बन्धी अध्ययन प्रतिवेदन तयार गरी अर्थ मन्त्रालयको निजीकरण एकाईमा पेस गरिएको जानकारी दिए । यस अघिका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रहेका दिलेन्द्र प्रसाद बडूले जसरी पनि जनकपुर चुरोट कारखाना संचालन गरिने बताएका थिए ।
रिजाल अघि सोही मन्त्रालयका मन्त्री दिलेन्द्र प्रसाद बडूले जसरी पनि जनकपुर चुरोट कारखाना संचालन गरिने बताएका थिए । २०७९ साउनमा कारखाना निरिक्षण गरेका मन्त्री बडूले मुलुकको व्यापार घाटा कम गर्न हेटौडा कपडा उद्योग र जनकपुर चुरोट कारखाना लगायत मुलुकमा रहेका रुग्न उद्योग, कलकारखानाहरुलाई संचालन गर्न सरकारले आवश्यक नीति लिने बताएका थिए ।
सरकारले रुग्न उद्योगहरु संचालन गर्ने नीति लिएपछि आफुले जनकपुर चुरोट कारखानाको स्थलगत अनुगमन गरेको उल्लेख गर्दै उनले जनकपुरका सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘उद्योगको अवस्था के कस्तो छ र कसरी चलाउन सकिन्छ भन्ने विषयमा सरोकारवाला सबै पक्षसँग विमर्श गर्छौैं । आवश्यक तयारी गरेर उद्योग संचालन गर्ने हो ।’ राष्ट्रिय उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य अनुरुप जनकपुर चुरोट कारखानालाई संचालनमा ल्याउने तयारी रहेको उनको भनाइ थियो । यसका लागि बजेट समेत विनियोजन गरेको जनाएका उनले सरकार आफै चलाउने कि निजी क्षेत्रसँग मिलेर अगाडी बढ्ने भन्ने विषयमा निकट भविष्यमा निर्णय हुने बताएका थिए ।
त्यसको केही समयपछि मधेश प्रदेश सरकारमा प्रवेश पाएपछि एमाले मधेश प्रदेश संसदीय दलका नेता तथा तत्कालिन भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले पनि कारखाना चलाउने कुरामा जोड दिएका थिए । प्रदेश सरकारका मन्त्रालयहरु र मन्त्री निवास पछि आफै निर्माण गर्नेगरी तत्काल भाडामा लिएर संचालन गर्ने बताउँदै उनले पदभार ग्रहण गरेकै दिन सञ्चारकर्मीहरुसँग भनेका थिए, ‘कारखाना चल्छ, हामी चलाउँछौं । अहिलेलाई प्रदेश सरकार भाडाको घरमा चल्छ भविष्यमा सरकारको आफ्नै भवनहरु खडा हुनुपर्छ ।’ मन्त्री यादव पनि केही महिनामै सरकारबाट बाहिरिने अवस्था आयो र कारखाना चलाउने विषय सेलायो ।
त्यस अगाडी केही समयका लागि संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री भएका जनकपुरकै निवासी रघुवीर महासेठले पनि जनकपुर चुरोट कारखानाको निरिक्षण गरेका थिए । केपी ओली नेतृत्वको सरकारमा मन्त्री रहेका महासेठले पनि त्यसबेला केही दिनभित्रै कारखाना संचालनका लागि आवश्यक तयारी अगाडी बढ्ने बताएका थिए । उनकै निर्वाचन क्षेत्रमा अवस्थित कारखानाको बारेमा अहिले सांसद रहेका महासेठले पनि बोल्न छोडेका छन् । (मधेशदृष्टि)

 

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको