सुरेश यादव, जनकपुर
शनिबार बिहान करिब तीन बजे जनकपुरको थापा चोकमा सडक दुर्घटनामा परी धनुषाका सञ्चारकर्मी शिवेन्द्र रोहिता यादवको मृत्यु भयो । कारले मोटरसाइकलमा ठोकिएर दुर्घटना भएको र सोही दुर्घटनामा शिवेन्द्रको मृत्यु भएको प्रहरीको भनाई छ । यस अघि गत वैशाख ११ गते धनुषाकै सञ्चारकर्मी विनय यादवको पनि सडक दुर्घटनामै मृत्यु भएको बताइएको थियो । विनय यादवको घटना पनि यस्तै बिहान करिब साढे तीन बजेको समयमा भएको देखियो । यसरी एक महिना भित्रै तीस–बतीस वर्ष उमेर समुहका दुई जना सञ्चारकर्मीको अल्पायुमै मृत्यु समान्य घटना होइन ।
वैशाखको दोस्रो साता ज्यान गुमाएका विनय यादवको मृत्यु शंकास्पद रहेको परिवारजनको अभियोगलाई प्रहरीले अनुसन्धान गरिरहेको अवस्था छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले दुर्घटना भएको देखाएपनि पीडित परिवारको तर्फबाट आएको जाहेरी आधारमा विभिन्न कोणबाट अनुसन्धान गरिरहेको प्रहरी भनाई छ । जेठको पहिलो साता ज्यान गुमाएका शिवेन्द्र रोहिता यादवको घटनालाई पनि विभिन्न व्यक्तिहरुले विभिन्न आशंका व्यक्त गरिरहँदा प्रहरीले दुर्घटना भनेको छ । यद्यपि घटनास्थल आसपासमा उपलब्ध हुने सिसिटिभी फुटेजहरु र प्रहरीको अनुसन्धानले घटनाको प्रकृतिवारे थप प्रष्ट हुनेछ जुन अध्ययनको क्रममै छ ।
विनय र शिवेन्द्रको मृत्यु सडक दुर्घटनामा भएको हो कि नियोजित रुपले दुर्घटनाजस्तो बनाएर हत्या गरिएको हो भन्ने विषयमा सम्बन्धित निकायले अनुसन्धान गरेपछि नै यकिन हुने कुरा हो । यो लेख मार्फत दुर्घटना देखाउन खोज्ने वा हत्याको जिकिर गर्ने विषय होइन । यद्यपि, घटनाको सत्य तथ्य अनुसन्धानमा आउनुपर्ने र दोषी ठहर हुने जोकोहीलाई पनि कानुन अनुसार कारवाही गरी अपराधिक मनोवृतिलाई निरुत्साहित गर्नुपर्ने हो । निष्पक्ष छानबिन प्रक्रियालाई राज्यले निष्कर्षमा पु¥याउनुपर्ने हो र यसका लागि नागरिक स्तरबाट पनि उचित सहयोग हुनुपर्छ ।
पत्रकारिताको क्षेत्रमा म (लेखक) लाई आदर्श मान्ने दुवै प्रिय भाईहरुलाई अल्पायुमा गुमाउनुपर्दाको पीडा मैले न शब्दले न त भावले व्यक्त गर्न सक्छु । विनयको घटनाले स्तब्ध छु । उक्त घटनालाई बिर्सन नपाउँदै शिवेन्द्रको घटना दोहोरिएपछि निकै गम्भिर बनाएको छ । भाईहरुको आत्माले चीर शान्ति पाउन् भनि जानकी मातासँग प्रार्थना गर्दछु । र, सहकर्मी खासगरी नयाँ पुस्ताका सञ्चारकर्मी मित्रहरुलाई सचेत हुन आग्रह गर्न चाहन्छु ।
मैले पत्रकारितालाई पेशा बनाएको पनि १८ वर्ष बित्यो । त्यसअघि करिब दुई वर्षसम्म पत्रकारितामा समान्य रुपले आबद्ध भएर अनुभव संकलन गरेको थिएँ । यस आधारमा मेरो करिब दुई दशक समय यस क्षेत्रमा बित्यो । म याद गर्न चाहन्छु, दोस्रो जनआन्दोलन र मधेश आन्दोलनका घटनाहरु । जतिबेला म अन्य सहकर्मीहरुसँगै आन्दोलनको अग्रमोर्चामा रहेर रिपोर्टिङ गरिरहेको थिएँ । कहिल्यै आन्दोलनकारीको ढुङ्गा त कहिल्यै प्रहरीको लाठी पनि जानअनजानमा खाइयो । प्रहरीको दुष्कर्मलाई क्यामेरामा कैद गरेकै आधारमा मेरो क्यामेरा खोस्न खोजेका प्रहरीसँग नोकझोंकको क्रममा बन्दुकको कुन्दा पनि खाएँ र सिकिस्त अवस्थामा सघन उपचार पाएर ज्यान जोगिएको अनुभव पनि सँगाले ।
मेरो पत्रकारिताको विगतलाई स्मरण गरिरहँदा बारम्बार नारायण वाग्लेलाई सम्झिन्छु । नारायण वाग्ले नागरिक दैनिक अखबारका संस्थापक सम्पादक । म त्यसबेला नागरिक दैनिकको क्षेत्रीय संवाददाता थिएँ । दिनहुँ गोली लागेर आन्दोलनकारीको मृत्यु र प्रदर्शनकारीको ढुङ्गा लागेर प्रहरी त कहिल्यै मानवअधिकारकर्मी र सञ्चारकर्मीहरु पनि घाइते भइरहेको समाचार बनाउनु हाम्रो त्यसबेलाको दैनिकी नै थियो । सधैँ बिहान मेरा सम्पादकले फोनमा भन्ने गर्नुहुन्थ्यो, ‘सुरेशजी रिपोर्टिङ गर्नुस् तर आफ्नो ज्यान जोगाउने जिम्मेवारी पनि तपाईँकै हो है ।’ उहाँले भन्नुहुन्थ्यो, ‘तपाईँ जिवित रहे पत्रकारिता जिवित रहने हो ।’
नारायण दाईको त्यो ज्ञान र मेरो पत्रकारिताको स्कुलिङले जीवनमा धेरै कुरा सिकायो । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस मञ्च लगायत सञ्चारकर्मीहरुको संगठनले सबैजसो पत्रकारलाई राजनीतिक दलमा विभाजित गरेको छ । यस आधारमा करिब सबैजसो पत्रकार कुनै न कुनै राजनीतिक दलसँग आवद्ध रहेपनि पत्रकारिता गरिरहँदा अर्थात् समाचार लेखनको बेला दलगत दायरालाई नाघेर पेशागत दायित्व निर्वाह गर्नुपर्ने कुरामा स्पष्ट भएर काम गरेको छु, अन्य साथीहरुले पनि यस्तै गरेका छन् अपवाद बाहेक । पत्रकारिताको निश्चित आचार संहिता छ जसको पालना हामीले गर्नुपर्छ । यसो भनिरहँदा पत्रकारिताको धर्म पालना गर्न सकिए मात्रै पत्रकारिता प्रतिको सम्मान बाँच्न सक्छ । यसका लागि यदि कसैले चुक गर्दैछ भने हामी सच्चिनुपर्छ है भन्ने भावना हुनुपर्छ । यहाँ यो भन्दा पनि पत्रकारको सुरक्षाको सवालमा केन्द्रीत रहेर यो लेखमा शब्द संकलन गर्न चाहेको छु ।
पत्रकारले आफ्नो सुरक्षाको सवालमा आफै सचेत रहनुपर्छ । म अहिले पनि याद गर्छु विराटनगरको घटनालाई । तत्कालिन दैनिकी डटकममा हामीले लेख्ने क्रममा मेरा विराटनगरस्थित सहकर्मी खिलानाथ ढकालमाथि त्यहाँस्थित केही अपराधिक प्रवृति भएका युवाहरुले समाचार लेखेकै कारण सांघातिक आक्रमण गरेको थियो । मरनासन्न हुनेगरी कुटपिट गर्दै यातना दिइएको थियो खिलानाथलाई । हामी पत्रकारहरुले संस्थागत रुपमै अपराधिक गिरोह विरुद्ध लेखनकै माध्यमले संघर्ष ग¥यौं र केही हदसम्म न्याय पनि पायौं ।
सञ्चारकर्मीले गलतको विरोध गर्नुपर्छ । विरोध जसको भएपनि एक पक्ष जहिले पनि शत्रुको रुपमा प्रस्तुत भइरहन्छ । समाजका लागि पत्रकारिता हुनुपर्ने र पत्रकारको पक्षमा समाज हुनुपर्ने हो । आजको दिनमा पत्रकार र समाज को कहाँ आफ्नो कर्तव्यबाट च्यूत भइरहेका छौं त्यो मनन गर्नुपर्ने विषय हो पत्रकारले पनि र समाजले पनि ।
म फेरि पनि मेरा सहकर्मी पत्रकार साथीहरुलाई के भन्न चाहन्छु भने हामी पत्रकारहरु कसैसँग धेरै नजिक वा धेरै टाढा हुनेगरी लेख्ने, बोल्ने वा व्यवहार गर्ने काम नगरौं । आफ्नो पेशागत धर्मप्रति सचेत र गम्भिर बनौं । आफ्नो ज्युधनको सुरक्षाका लागि पहिले आफै जिम्मेवार बनौं शंका लागेमा प्रहरी, प्रशासनको सहयोग लिऊँ । अबेर साँझ सकभर घरबाहिर ननिस्किौं । निस्किनै परे नजिकको सुरक्षाकर्मीलाई जानकारी गराउन नबिर्सौं । जहाँतहीँ मांसमदिरा खानपान गर्दै नगरौँ । जो कोहीसँग प्रतिकुल समय र स्थानमा खाजा खाने वा रिपोर्टिङमै पनि नजाऔं । पत्रकारिता क्षेत्रमा हामीले यति मात्रै नियमलाई पालना गर्न सक्यौँ भने पत्रकारिता क्षेत्रप्रति जनविश्वास पनि बढ्छ र हामी सुरक्षित पनि रहन सक्छौं । अतः हामी संविधान र संविधान बमोजिमको कानुन पालना तथा समाजको हितका लागि समर्पित रहेर पत्रकारिता गरौं, लेखौँ, बोलौँ तर, आफ्नो ज्यानको सुरक्षालाई पहिलो प्राथमिकतामा राखौं । अन्त्यमा, एक पटक फेरि मेरा स्नेही भाईहरु विनय र शिवेन्द्रप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको