धनुषा, पुस २९ – धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ कुम्हरामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। कुम्हरा युवा क्लबको आयोजनामा तथा जानकी मेडिकल शिक्षण अस्पताल रमदैया भवाडी धनुषाको प्राविधिक सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा २९४ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
स्वास्थ्य शिविरमा हाडजोर्नी, मेडिसिन, पेट, छाती, मुटु, मृगौला, कान-घाँटी, छाला रोग, सर्जरी, बालरोग, आँखा, स्त्री तथा प्रसूति विभाग, रक्त परीक्षण र अल्ट्रासाउन्ड जस्ता सेवाहरू प्रदान गरिएको थियो।
कुम्हरा, केशवकुट्टि, मुलाबारी, धारापानी, सरस्वतीपुर र किसानपुर भगवानपुर लगायतका क्षेत्रका स्थानीय बासिन्दाले शिविरको सेवा लिएका थिए।
शिविरको अध्यक्षता कुम्हरा युवा क्लबका अध्यक्ष एवं रेडियो धनुषा ९९.७ मेगाहर्जका सञ्चालक मुकेश कुमार ठाकुरले गरेका थिए। प्रमुख अतिथिका रूपमा धनुषाधाम नगरपालिकाका उपप्रमुख विद्या देवी भुजेल सहभागी थिइन्। बिशिष्ट अतिथिहरूमा नेकपा एमालेका केन्द्रीय सल्लाहकार असर्फी भिन्वार यादव, माओवादी केन्द्रका प्रदेश सदस्य झल्कु भिन्वार यादव, शिक्षा शाखा प्रमुख विष्णु मण्डल, जनता समाजवादी पार्टी नेपालका युवा नेता जगतनारायण लगायतको उपस्थिति थियो।
शिविरमा कुम्हरा युवा क्लबका पदाधिकारी र स्थानिय नेताहरूको सक्रिय सहभागिता रहेको थियो। प्रगतिशील जनता प्राथमिक विद्यालय कुम्हराको प्राङ्गणमा सम्पन्न शिविरमा स्थानीय जनता उत्साहपूर्वक सहभागी भएका थिए।
शिविरको व्यवस्थापन र सेवा प्रभावकारी भएकोले सहभागीहरूले आयोजकप्रति आभार व्यक्त गरेका छन्।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: