काठमाडौं, वैशाख १७ –
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशमलाल चौधरीलाई आज प्रज्ञा प्रतिष्ठान परिसरबाट पक्राउ गरिएको घटनाप्रति घोर आपत्ति जनाउँदै भर्त्सना गरेका छन्।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता घोषणा कार्यक्रम तय भएको बेलामा, सोही कार्यक्रमस्थलबाट सादा पोसामा आएका नेपाल प्रहरीले चौधरीलाई पक्राउ गर्नु दुर्भाग्यपूर्ण र आपराधिक प्रवृत्तिको दुराशयपूर्ण कार्य भएको जनमत पार्टीको आरोप छ।
“पार्टी एकीकरणको महत्त्वपूर्ण क्षणमा, जनताको प्रतिनिधिमार्फत निर्मित राजनीतिक सहकार्यको ऐतिहासिक घडीमा प्रहरीले पूर्वनियोजित रूपमा रेशमलाल चौधरीलाई गिरफ्तार गरेर कार्यक्रम विथोलेको छ,“ जनमत पार्टीका केन्दीय प्रवत्तल डा. शरद सिंह यादवले भने, “यो कदम न्यायको उपहास हो, हामी यसको घोर भर्त्सना गर्दछौं।“
जनमत पार्टीले सरकारलाई यस प्रकारको दमनकारी प्रवृत्ति तत्काल अन्त्य गर्न चेतावनी दिँदै जनाएको छ कि,“यदि रेशमलाल चौधरीको गिरफ्तारी तत्काल फिर्ता लिइएन र राजनीतिक सहकार्यमा अवरोध पुर्याउने कार्य रोकिएन भने देशव्यापी आन्दोलनको बाटो खोलिनेछ।“
थरुहट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र टीकापुर घटनापछि चौधरीलाई आममाफी दिइसकेपनि पुरानो फैसला कार्यान्वयनको नाममा पुनः गिरफ्तारी गर्नु विद्वेषपूर्ण निर्णय भएको जनमत पार्टीको ठहर छ।
जनमत पार्टीले चौधरीको रिहाइको माग गर्दै सम्पूर्ण लोकतान्त्रिक शक्ति, मानव अधिकारवादी संस्थाहरू र नागरिक समाजलाई आवाज उठाउन आह्वान गरेको छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको